छिपहरमाईमा बर्थिङ सेन्टर सञ्चालन

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२ सानो टिहुकी सेढामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । जिल्लाको अति दुर्गम गाउँपालिका मानिने छिपहरमाइका महिला बच्चा जन्माउन भारतमा गइरहनु पर्ने समस्यालाई हटाउन गाउँपालिकाले उक्त सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको उद्घाटन पालिका अध्यक्ष मनोज गुप्ताले गरेका छन् ।  उद्घाटन गर्दै अध्यक्ष गुप्ताले भने, ‘वर्षौंदेखि यस पालिकामा एउटा पनि बर्थिङ सेन्टर नरहेको र बाटोघाटोको समस्यासमेत रहेका कारण यस क्षेत्रका महिलाहरूले प्रसूतिका बेलाबेलामा समस्या भोग्ने गरेकोमा अब त्यो समस्या नहरने भएको छ ।’ उनले यस पालिकाको पाँचै वटा वडामा बर्थिङ सेन्टर स्थापना गरिने प्रतिबद्धतासमेत गरेका छन् । यस पालिकामा कुनै पनि बर्थिङ सेन्टर नहुँदा कतिपय महिलाहरू स्वास्थ्य संस्था नपुग्दै बाटोमै मृत्यु हने भएकाले पालिकाले पहिलो प्राथमिकता स्थास्थ्य र शिक्षालाई प्राथमिकता दिएको अध्यक्ष गुप्ताले बताए । उनले पालिकाको वडा–१ को मिर्जापुरमा ८० लाखको लागतमा चौथो बर्थिङ सेन्टर स्थापना गर्ने योजना रहेको बताए ।

पहलो बर्थिंङ सेन्टर छिपहरमाई गाउँपालिका–४ को तुल्सीवर्वामा, दोस्रो वडा–२ टिहुकी सेढामा स्थापना भई सञ्चालनसमेत भइरहेको छ भने तेस्रो वडा–३ जयमंगलापुरमा निर्माण सम्पन्न भइसकेको र सञ्चालन हुन बाँकी रहेको छ । पहिला यस क्षेत्रमा बर्थिङ सेन्टर नहँुदा महिलाहरूले प्रसूति गराउन भारतमा जाने गर्थे । अध्यक्ष गुप्ताका अनुसार छिटो गाउँपालिकाले एमबिबिएस डाक्टरको बहाली गरी स्वास्थ्य संस्थामा राखिने प्रतिबद्धतासमेत गरे । स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर बहाली भइसकेपछि यस क्षेत्रका जनताहरूले भारत र नेपालका वीरगञ्ज, पोखरीयालगायत अन्य ठाउँहरूमा उपचार गराउन जानु नपर्नेसमेत अध्यक्ष गुप्ताले बताए ।

वडा–५ को भिस्वामा पनि बर्थिङ सेन्टरको काम भइरहेको छ । आउने आवमा तयार गरी पालिकाको पाँचैँ वडामा बर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य संस्थाहरूलाई मजबुत बनाउने अध्यक्ष गुप्ताले बताएका छन् । उनले प्रत्येक सेन्टरमा एम्बुलेन्स राखिनेसमेत बताएका छन् । पालिकामा अहिले एक मात्र एम्बुलेन्स सञ्चालनमा रहेको र यस आवमा एउटा एम्बुलेन्स खरिद गरी तुल्सिवर्वा र सम्भौता सेढामा रहेको बर्थिङ सेन्टरमा वितरण गरिने अध्यक्ष गुप्ताले बताए ।

पालिकामा रहेका बर्थिंङ सेन्टरमा प्रसूति गराउन आउने महिलालाई प्रोत्साहन स्वरूप पालिकाबाट दुई हजार नगदसमेत दिने उनले घोषणा गरे । बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुनले बर्थिङ सेन्टरको निर्माणले महिलाको सुरक्षा बढेको बताइन् । उनले यस क्षेत्रका महिलालाई सुरक्षित, सहज, प्रसूति सेवा पाउनुका साथै पैसाको पनि वचत हुने बताइन् ।

बर्थिङ सेन्टरमा ६ जना स्वास्थ्यकर्मीहरू रहने र यस क्षेत्रका महिलाहरूलाई सुरक्षित र सहज तरिकाले प्रसूति गराउन सहज बनेको छ । बर्थिङ सेन्टर सञ्चालन भएकाले सो क्षेत्रका हजारौँ महिला खुसी भएका छन् । बर्थिङ सेन्टर २४सै घण्टा सञ्चालनमा रहनेछ । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रसाशकीय अधिकृत, वडा अध्यक्षहरू, स्वास्थ संयोजक पूर्वगाविस अध्यक्ष, बर्थिङ सेन्टरका हेल्थ असिस्टेन्ट, स्टाफ नर्सलगायत कर्मचारी र स्थानीय सञ्चारकर्मीलगायत स्थानीयन महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष गुप्ताले प्लस टु सञ्चालनमा रहेको नवगवा मावी, मंगल मावीलाई नवगव प्राविधिक शिक्षामा सुधार गर्दै लैजाने, ४ करोड ५० लाखको लागतमा जयमंगलापुरदेखि तुल्सिवर्वा जोडने पुलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउने, दुई लाखको बालिका स्वर्ण योजना बिमा प्रदेश–२ मै पहिलोपटक गरेको र शिक्षा क्षेत्रमा सुधार गर्न १२ प्रअहरू को सरुवा गरी शिक्षा क्षेत्रलाई अझ चुस्त दुरुस्त बनाई सम्पूर्ण गाउँपालिकालाई नै साक्षर गर्ने अभियान रहेकोसमेत बताएका छन् ।

प्रतिक्रिया