पहिरोले बेसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बेसीशहर नगरपालिका–६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिराले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सबइन्जिनीयर सुमन अधिकारीले बताए ।

उहाँले भने, ‘तत्काल सडक खुलाउने सम्भावना छैन, यहाँनिर साँगुरो सडक छ, जमीन गलेको छ, सडक तल मस्र्याङ्दी नदीले खोतलेको छ भने माथिबाट पहिरा खस्ने गरेको छ ।’

सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिराले करीब २० मिटर सडक भासिएको थियो भने केही भागमा ढुङ्गामाटोले सडक ढाकेर अवरुद्ध भएको थियो ।

सडक भासिएपछि सोही भिरको कुनापट्टिको भाग खोतलेर बुधबार साँझबाट सडक पुनः सञ्चालन भए पनि सोही स्थानमा आज पुनः पहिरा खसेपछि सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया