बुढीनन्दाले सुरु गर्यो सुत्केरी महिलाहरुलाई उपप्रमुखको कोशेली

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले यस वर्षका लागि तय गरेको गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपप्रमुखको कोशेली कार्यक्रमको आज एक कार्यक्रमका विच उद्घाटन गरेको छ ।

बुढीनन्दा नगरपालिका भित्रका सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउने उद्देश्यले लागू गरिएको कार्यक्रमको आज सुदुरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मीले सुभारम्भ गरेका हुन् ।

नगर उपप्रमुख सृष्ट्रि रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद रेग्मीले बुढीनन्दा नगरपालिका वडा नं ३ की शितलपुरा विकका आफन्तलाई उपप्रमुखका तर्फबाट प्रदान गरिएको कोशेली हस्तान्तरण गरेर सेवा सुरु गरेका हुन् ।

बुढीनन्दा नगरपालिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको चाप बढी हुने भएकाले यसलाई २५ शैयाको हस्पीटल बनाउनका लागि सबैले आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्नुपर्नेमा सांसद रेग्मीले जोड दिए ।

यो कार्यक्रम अघिल्लो वर्ष नै तय भए पनि विभिन्न कारणले सूचारु गर्न नसकेको र यो वर्ष विभिन्न चुनौतीका बावजुद कार्यक्रमको सुरुवात गरिएको नगर उपप्रमुख रेग्मीले बताइन् ।

यस क्षेत्रमा विशेष गरेर गर्भवती महिलाहरुले समस्या भोग्दै आईरहेको र हवाईजहाज मार्फत उद्धार गर्नुपर्ने परिस्थिति पनि आउने भएकाले प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थाबाट रिफर भएका यस नगरपालिकाका गर्भवतीको भाडा खर्च स्वरुप रु २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको समेत उनले बताइन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य सांसद रेग्मी रहेका थिए भने विशेष अतिथि बुढीनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपाने रहेका थिए ।

नगरपालिकाका सूचना अधिकारी गोकर्णराज रेग्मीले सञ्चालन गरेको कार्यक्रममा वडा न. १ का अध्यक्ष नृपराज खत्री, वडा नं २ का अध्यक्ष भिमबहादुर कार्की, कार्यपालिकाका सदश्य साइमल ल्वार, नेकपाका बुढीनन्दा नगर इन्चार्ज भरत विक, महिला विकास अधिकृत गंगा गिरी प्राथमिक केन्द्र प्रमुख डा. राजुराज जैशी लगायत स्वास्थ्यकर्मी रेडियो बुढीनन्दाका प्रमुख अनिल शाही लगायत पत्रकार अतिथि रहेका थिए

। उपप्रमुखको कोशेली कार्यक्रममा २५० ग्राम ज्वानो, १ केजी नुन, २ वटा लुगा धुने सावुन, एक चक्की नुहाउने सावुन र १ क्यारेट अन्डा रहेको बताइएको छ ।

प्रतिक्रिया