जयालाई हेमाको साथ

मुम्बई । बलिउड अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनीले केही दिनअघि लोकसभामा कलाकार तथा सांसद जया बच्चनले दिएको अभिव्यक्तिको समर्थनमा मुख खोलेकी छन् । जयाले केही समयदेखि बलिउडको छवि धुमिलो बनाउनका लागि केही कलाकार नै लागिपरेको भन्दै बलिउड यस्तो नभएको जिकिर गरेकी थिइन् । उनको उक्त कुराको समर्थन गर्दै हेमाले भनेकी छन्, ‘बलिउडलाई लिएर जे जस्ता कुराहरु भइरहेका छन्, यो सबै आश्चर्यलाग्दो छ । म भन्न चाहन्छु कि बलिउड सुन्दर ठाउँ हो । धेरै मानिसले यो स्थानमा आएर नाम, दाम र इज्जत कमाएका छन् । म यहाँ लामो समयदेखि छु र मलाई यही क्षेत्रबाट नाम र इज्जत मिलेको छ ।

धेरै महान् मानिसहरुले मिलेर यो क्षेत्रलाई बनाएका हुन् ।’ उनले धेरै मानिसहरु यहाँ आएर आफ्नो करिअर बनाउन चाहेको तर जब ड्रग्सजस्ता मुद्दाको कुराले बलिउडलाई धुमिलो बनाउने कोशिस गरिएकाले आफूलाई पीडा भएको बताएकी छन् । उनले भनेकी छन्, ‘ड्रग्सको सेवन बलिउडमा मात्र हुन्छ र ? यदि कुनै दाग छ भने त्यो धोएर जान्छ । बलिउडको यो दाग पनि एकदिन जान्छ । जया बच्चनले जे कुरा भन्नुभएको छ, म पूर्ण रुपमा त्यसको समर्थन गर्दछु ।’


मंगलबार राज्यसभामा बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जयाले बोलेको भनाई लिएर अभिनेत्री कंगना रनौत आक्रोशित भएकी छन् । योसँगै जया र कंगनाबीच वाकयुद्ध सुरु भएको छ । जयाले कुनै कलाकारको नामै नलिई भनेकी थिइन्, ‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ भनिरहेका छन् । मलाई आशा छ कि, सरकारले यी मानिसलाई यस्तो भाषा प्रयोग नगर्न भन्नेछ ।’

जयाको भनाइ बाहिरिएसँगै कंगनाले ट्विटमा लेखेकी छन्, ‘जयाजी, तपाईंले यो कुरा त्यतिबेला बुझ्नुहुन्थ्यो जतिबेला मेरो स्थानमा तपाईंकी छोरीमाथि हातपात हुन्थ्यो, उसलाई नशा दिइन्थ्यो र युवावस्थामा उसको शोषण हुन्थ्यो । के तपाई त्यतिबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाईंको छोरा अभिषेकमाथि निरन्तर ह्यारेसमेन्ट हुन्थ्यो र एकदिन उसलाई तपाईं पंखामा झुण्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहानुभूति दिनुहोस् ।’  यी दुईबीच चलेको वाकयुद्धमा हेमाले जयाको पक्षमा आफ्नो भनाइ राखेकी हुन् ।

प्रतिक्रिया