संस्मरण : खेल र जीवन

तेज काफ्ले

त्यसताका (कक्षा चार र पाँच) हामी स्कुलमा कबड्डी र नुनचोरजस्ता खेलहरू खेल्थ्यौँ । अनि अलिक ठूलो भएपछि (कक्षा ६–१०) हामीहरू स्कुलमा चुंगी, चोरपुलिस र भलिबल लगायतका खेलहरू खेल्थ्यौँ । घरतिर, बाटामा चाहिँ चुंगी, डड्डीबियो, लट्टु (भुरूङ) नचाउने खेलहरू खेल्थ्यौँ । त्यसताका गुच्चा एक रुपैयाँमा १० वटा आउँथे । गुच्चा खेल्नुको मज्जा पनि बेग्लै हुन्थ्यो । गुच्चा खेल्दा सर्वप्रथम एउटा खोपी बनाउनुपथ्र्याे । कतिजना व्यक्ति खेल्ने हो, त्यसको निक्र्योल गरिसकेपछि खोपीभन्दा लगभग १२÷१५ हात टाढाबाट खेलाडीले खोपीको निसाना लगाउनुपथ्र्यो, जसको खोपीको नजिक पुग्थ्यो, उसले खोपीमा छिराएर आफूनजिकको साथीको गुच्चालाई हानेपछि बाजी मारिन्थ्यो । नामचाहिँ ठ्याक्यै याद हुन सकेन गुच्चा खेलकै क्रममा एउटा वर्गाकार कोठा बनाई त्यसमा खेल्ने खेलाडीले मिलाएर गुच्चा राखिसकेपछि माथि भनिएझैँ निश्चित दुरीबाट, ती वर्गाकार घेरामा राखिएका गुच्चालाई हान्नुपथ्र्यो, जसको नजिक पुग्छ, उसले पहिला आफ्नो नजिकको साथीको गुच्चालाई हानेपछि वर्गाकार कोठामा रहेका गुच्चालाई हान्न पाइन्थ्यो । ओहो ! त्यो क्षण साँच्चै युद्ध जितेसरि नै हुन्थ्यो किनकि एकैपटकमा चार÷ पाँच वटा गुच्चा जित्ने सम्भावना प्रवल हुन्थ्यो । सही निसाना गुच्चा खेलाइको विशेष गुण थियो ।

भुरूङ नचाउन पनि असाध्यै रमाइलो प्रक्रिया हुन्थ्यो । भुरूङ नचाउने काममा भुरूङमा धागो बेर्दा दाहिने हातको चोरीऔँला खिएर रगत नै आउँथ्यो । भुरूङ नचाउने खेलमा निकै प्रतिशोधको भावना हुन्थ्यो, कसरी साथीका भुरूङ फोर्ने भन्ने मात्र ध्याउन्न हुन्थ्यो । भुरूङ खेलमा बेलाफाइट नामक खेल हुन्थ्यो । सोच्दछु, कहाँबाट यस्तो नाम राखिएको होला । जेहोस्, खेलमा दुई जनादेखि जति जना पनि खेल्न मिल्ने हुन्थ्यो । खेलमा पहिला, एउटा रेखा कोर्ने अनि कोरिएको रेखाको टाढा हुने साथीले त्यस्तै २०÷२५ हात दुरी मापन गरी एकतर्फको लाइनमा आफ्नो भुरूङ राख्ने अनि विपक्षी साथीहरूले भुरूङ नचाएर, नाचिरहेको भुरूङलाई हातमा ल्याई नियमानुसार अनिवार्य दुई÷तीनपटक छुने र धकेल्दै तोकिएको घेरा कटाउने खेलो हुन्थ्यो । यदि छुवाउन नसके आफ्नो भुरूङ तल राख्नुपथ्र्यो । तोकिएको निश्चित दुरी पार गरेपछि एक ठाउँमा राखेर सिधै काटी हान्ने काम हुन्थ्यो । त्यो नै लेखको समाप्ति हुन्थ्यो ।

यसरी हामीले एकअर्काका धेरै नै भुरूङका छोइला काढेका छौँ । राम्रा नाँच्ने भुरूङ निकै कम पाइन्थे । कोही असाध्यै खटखटे हुन्थे । त्यस्ता खटखटे भुरूङलाई ब्यालेन्स मिलाउन भुरूङमाथि थमपिन ठोकिन्थ्यो । खै, कहाँबाट आएको होला त्यो आविष्कार ! भुरूङलाई पनि भाले र पोथी भनेर नामाकरण गरिन्थे । निश्चित घेराभित्र भुरूङ राखेर हान्ने अर्काे खेलमा नाँच्दानाँच्दै घेराभन्दा बाहिर निस्कन नसक्ने र निस्कन सक्ने भुरूङलाई क्रमशः पोथी र भाले भनिन्थ्यो । भाले भुरूङ हुनु गर्वको विषय हुन्थ्यो । कहिलेकाहीँ साथीहरू स्कुलबाट भागीभागी पनि भुरूङ, गुच्चा खेल्थे । भोलिपल्ट ती साथीहरू स्कुलमा शिक्षकहरूका छडीका सिकार हुन्थे । सोच्दछु, किन शिक्षकले लठ्ठी नै हान्नुपथ्र्यो र ? बरू, त्यही लड्डु, गुच्चा वा अन्य कुनै विषयमा तिमीले चार÷पाँच सय शब्दको लेख लेख्नै पर्छ भन्ने सजाय दिने सोच नपलाएको । गुच्चा खेल्दा तिमीहरू सधैँ एकदेखि १० सम्म मात्र गन्ती गर्छाै, कहिलेकाहीँ नब्बेबाट गन्ती गरी सय पु¥याएर पनि खेल भन्ने कुरा शिक्षकले किन भनेनन् होला । खेलसँग सिकाइको सम्बन्ध किन जोड्न सकेनन् होला भन्ने कुरा मनमा आइरहन्छ । म तीन÷चारपटक स्कुलबाट अन्तिम कक्षामा भागेको छु । त्यो पनि पेट बिग्रिएको कारणले नजिकै रहेको खोलामा शौचालय जानका लागि । त्यो पल सम्झँदा आफैँलाई अचम्म लाग्छ । हुन त मेरो देशको सक्कली रूप हेर्न नजिकैको सार्वजनिक शौचालय हेरे पुग्छ ।

गुच्चा, खोपीजस्ता खेललाई विद्यालयमा पटक्कै राम्रो मानिदैनथ्यो । तुलनात्मक रूपमा चुंगी खेलचाहिँ केही राम्रो मानिन्थ्यो । चुंगी खेलमा ट्याक लगाउने र ब्याक हान्ने भन्ने चलन हुन्थ्यो । स्कुलमा हामी चुंगी खेल समूहमा खेल्थ्यौँ । बिहानी प्रार्थना अगाडिको समयमा हामी चुंगी खेल्थ्यौँ । कक्षा नौ–१० तिर पढ्दा कतिसम्म हुन्थ्यो भने हामी समूहमा चुंगी खेलेको हेर्न चारैतिरबाट धेरै संख्यामा दर्शक विद्यार्थी जम्मा हुन्थे, जसरी काठमाडौंको रत्नपार्क र नयाँ बसपार्कमा जादु र चटक हेर्न जम्मा हुने गर्छन् । हामीहरू एउटैले सय–सय ट्याक र ब्याक लगाउँथ्यौँ । एउटा थाकेपछि आफ्नै समूहको साथीलाई पास दिने नियम हुन्थ्यो । त्यो बेलाका चुंगीका दिग्गजहरूमा लाल केसी, भेषराज, कृष्ण गुरूङ (हाल भारतीय आर्मीबाट सेवानिवृत्त) र स्वयम् म लगायतका साथीहरू थियौँ । मेरा गाउँ (स्याङ्जा, हाल अर्जुनचौपारी गापा बजारमाथि छाप) भूधरातल साह्रै भिरालो भलिबल खेल्नका लागि गाउँमाथि देउराली भन्ने ठाउँमा सानो भलिबल खेल्ने ठाउँ थियो र अझै पनि छ भनौँ । आफूभन्दा ठूला दाइसँग खेल्नुपर्ने पालो पाउने सम्भावना नै कम । पाइहाले पनि भलिबल कोडको सट हान्ने ठाउँको पछाडि बल चुहिने ठाउँमा बस्नुपर्ने । हरेक कुराको सिकाइको आफ्नै प्रक्रिया भएझैँ हामी पनि सुरूसरूमा दाइहरूले सट हानेका बल चार÷पाँच कान्ला तल गएर ल्याउने र त्यहीबेलामा बल छुने प्रक्रिया हुन्थ्यो । त्यति तलबाट बल ल्यायो, अनि यसो सर्भिस गरेझैँ ग¥र्याे । आखिर निरन्तरको अभ्यासले त्यहाँ सिकाइ हुँदोरहेछ । अहिले आएर सोच्दछु, कहिल्यै पनि ती सिनियर भनेका दाइहरूले आफूभन्दा साना भाइ, छोरालाई मीठो वचन गरेनन् । हामीले भलिबल चौरका अभावका कारण कति ठाउँमा खोल्सा, बारीका गराहरू चिन्यौ र बनायौँ । कति–कति श्रम खर्च ग¥यौँ । आखिर ती पनि सिजनेबल हुन्थे । बर्खा लाग्यो । बाढी आयो । बगाएर लग्यो सकियो ।

भलिबल पनि के खेलेको भनौँ । आधा समय त कोडमा बल ल्याउनमा नै सकिन्थ्यो । हाम्रो समाज बालबालिकाको खेलका लागि कहिल्यै बालमैत्री भएन । गुच्चा खेल्दा होस् कि भुरूङ नचाउँदा होस्, अग्रजहरू ‘सधैँ तिम्लाई लात्ताका खर्चहरू जताततै प्वाल पारिसके भनेर’ गाली गरेको आजैजस्तो लाग्छ । समयको परिवर्तनसँगै अहिले यी खेललाई मोबाइलका खेलले विस्थापन गरिसके । अफिस जाँदा होस् वा कामको सिलसिलमा कतै जाँदा होस् काठमाडौंका गल्लीमा गुच्चा खेलेको देखेँ भने म जतिसुकै व्यस्त भए पनि एकछिन टक्क अडिन्छु । तिनीहरूका गतिविधि नियाल्छु अनि ‘ल यो गुच्चालाई साँच्चिकै हान्न सक्यौ भने तिमीलाई १० रुपैयाँ दिन्छु ।’ दुई÷तीनपटकको यस्तो संयोगमा उनीहरू असफल नै भए पनि मैले १० रुपैयाँचाहिँ दिएर नै हिँडेको छु । मलाई थाहा छ, अहिले त्यो १० रुपैयाँको कुनै मोल छैन तर मैले गुच्चा खेलेको समयमा त्यसको विशेष महत्व थियो । मेरो छोरा जो अहिले ६ वर्षको भयो । कोरोना महामारीका कारण बाहिर निस्कने परिस्थिति छैन नै । कोठामा बस्दाबस्दा वाक्क हुनु पनि स्वभाविक हो । छोराको सधैँजसो बाबा मसँग खेल्दै खेल्नुहुन्न, खाली ल्यापटपमा झुन्डिनुहुन्छ, ल्यापटपमा धेरै बस्दा आँखा खराब हुन्छन् के अनि बिहानदेखि बेलुकासम्म खोल्दा ल्यापटप बिग्रिन्छ के बाबा कति कुरा बझ्नुहुन्न ।

यति कुरा छोराले मामुबाट सिकेको छ । ऊसँग नखेल्दा मैले यी वचन सधैँजसो सुन्नुपर्छ । छोरा एकैछिन है अनि खेलिहाल्ने ल ! उसको धैर्यताको बाँध टुटेपछि ऊसँग नखेली सुख नै छैन । के खेल्ने त छोरा भनी प्रश्न गर्दा, उत्तरमा हुन्छ चोरपुलिस । कोठामा कसरी चोरपुलिस खेल्ने त छोराभन्दा तपाई पुलिस बनेर ब्लांकेटभित्र लुक्नुहोस् म चाहिँ दराजभित्र । एकछिन हाँसिसकेपछि उसले भनेजस्तै गर्नैपर्छ । मनमा एउटा तरिका फु¥र्याे भनूँ, सानो क्यारमबोर्ड ल्याउने र फुर्सदमा खेल्ने । ल्याएँ पनि खेल्न पनि सुरू गरेँ । समस्या के भयो त भन्दा, उसलाई हान्न आउँदैन र हार्न पनि चाहँदैन । ल तिमीले तीनपटक हान्ने, मैले एकपटक । त्यसो गर्दा पनि खासै भएन त्यसपछि तिमीले स्टाइकरले गोटीलाई छोएपछि खाने नियम बनाएपछि जोगी खेलमा यो लेख तयार पार्दासम्म हामी तीन÷तीनपटक जोगी बनेका छौँ । जोगी बनेपछि दुवैको सहमतिमा १५ सम्म गन्ति गर्दा नाँच्नुपर्ने नियम पनि बनायौँ र आलोपालो नाँच्यौँ पनि । ऊ निकै खुसी पनि छ अनि धेरै हदसम्म खेल्न जान्ने भएको छ । सोच्दै छु, उसको सिकाइअनुरूप नियममा पनि परिवर्तन गर्दै जानुपर्छ होला ।

उच्च शिक्षा अध्ययनका लागि जब म दाङको बिजौरी पुगेँ । साघुँरो भूधरातलमा बाँधिएको म एकाएक त्यहाँका बिघाका बिघा ठूलाठूला चौरहरूले साँच्चिकै म मनमोहन भएको थिएँ । अहिले आएर देशको प्रदेश–५ को राजधानी सहर बुटवल बनाउने कि दाङ बनाउने भन्ने कुरामा किन अलि लामो बहसको विषय बनेको होलाजस्तो लाग्छ । मेरो विचारमा, हेरेक दृष्टिकोणले दाङ नै उत्कृष्ट ठाउँ हो भन्ने लाग्छ, एउटा विकसित देशले वर्षांैदेखि सिंगै लडिरहेका ती ठाउँहरूलाई कसरी दुलहीझैँ सिँगार्थे होलाजस्तो लाग्छ । हाम्रा नेतामा पनि त्यो परख गर्ने क्षमताको विकास होस् भन्ने मेरो कामना छ । क्याम्पस पढ्दाका सुरुआती दिनमा क्यारेमबोर्डचाहिँ खुबै खेलियो । त्योक्रम लगभग चार÷पाँच वर्ष चल्यो । बिजौरीको चोकमा तीन÷चार सेट क्यारेमबोर्ड हुन्थे । ती भाडाका हुन्थे । विशेषतः शरद, टोपेन्द्र, विष्णु, प्रमोद, शिवहरी, बिजौरीमा नै पसल गर्ने मुकेश दाजु, (भान्जा) हामीलाई तरकारी खुवाउने कमान दाइ, विजय दाइलगायत अरू थुप्रै साथीहरू समयक्रममा थपिँदै गए । त्यो खेल मैले दाङ गएर नै सिकेको हुँ ।

 

पछिल्लो समयमा राम्रै खेलाडी पनि भएको थिएँ भनौँ । खै किन हो जितचाहिँ कमै हुन्थ्यो । हामी कहिलेकाहीँ कक्षा नै हापेर पनि खेल्थ्यौँ । त्यस्तै ०६०-६१ तिरको कुरा हो जस्तो लाग्छ, प्युठानबाट विवाहका लागि दाङ आएको गाडी, दुलही लिएर फर्कने क्रममा प्युठानमा नै दुर्घटना हुँदा दुलाहासहित २० जनाको दुःखद् निधन हुन पुगेको थियो । प्युठानका रिजाल गाउँमा पुरूष प्रतिनिधि पाउन नै कठिन बनाएको त्यो दुर्घटनाले । भाग्यबस् दुर्घटनामा दुलहीचाहिँ बाँच्न सफल भएकी थिइन् । वर्ष ठ्याक्कै याद हुन सकेन, झापाका एक जना पत्रकारले बिहे गरे । त्यो कुरा मिडियामा नै आएको थियो । मुख्य कुरा, मेरा एक जना परममित्रलाई पनि त्यो दुर्घटनाले सदाका लागि यस पृथ्वीबाट बिदा गरेको थियो । मभन्दा एक व्याज जुनियर उनी मेरा रूम पार्टनर पनि थिए । छोटो समय भए पनि उनीसँग बिताएका पल मेरो मनमष्तिस्कमा अझै पनि ताजा भएर रहेका छन् । त्यो दुःखद् घटना सुन्दा म पीडाले मर्माहत भएको थिएँ । पीडाले निकै नै रोएको थिएँ । खैर, प्रसंग क्यारमबोर्डको थियो, ती साथी पनि साह्रै राम्रो क्यारमबोर्ड खेल्थेँ ।

क्याम्पसको प्रांगणमा भलिबल खेलिन्थ्यो । शिक्षा दिवसका दिन खेलकुद कार्यक्रमको आयोजना हुन्थ्यो । भलिबल प्रतियोगितामा नाम मैले बिर्सें सुदूरपश्चिमका एकजना दाइ हुनुहुन्थ्यो, सबैले मामा–मामा भनी बोलाउँथे । खै, अहिले कहाँ हुनुहुन्छ । मसँग सम्पर्कमा पनि हुनुहुन्न । मामाजीले बडो गजबको सट हान्नुहुन्थ्यो । म उनकै टिममा थिएँ । मैले पास उठाउने उनले हान्ने बढो रमाइलो भएको थियो । दर्शकले पनि निकै आनन्दको अनुभूति गरेका थिए । खासमा, म अहिले पनि होचोकदकै मान्छे छु । त्यो समयमा त झन् होचोकद सामान्य नै हो । होचो पनि म बलजत्रै थिएँ भनूँ, साथीहरू कसरी सर्भिस कटाउँछ भन्ने, म भने त्यही जोसमा सर्भिस कटाउने होइन रेखाभन्दा पनि बाहिर पु¥याउँथेँ । जेहोस् म भलिवल राम्रै खेल्थेँ । भलिबल सिकाइको मेरो पृष्ठभूमि जन्मघर स्याङ्जाबाट नै भएको थियो, जुन कुरा मैलेमाथि लामै फेहरिस्त दिएको छु ।

त्यसताका भारतबाट संस्कृत पढेर जनता विद्यापीठमा पढ्नका लागि आउने साथीहरू थिए । हुन त योक्रम अझै पनि छ । ती साथीहरूमा अविनाश, पशुपति दाइ, एकजना पुडासैनी थर गरेका साथी थिए । नामचाहिँ जति गरे पनि सम्झन सकिएन । त्यसै गरी विभिन्न जिल्लाबाट आउने साथीहरूमा सुदर्शन, विजय, बैकुण्ठ, नारायण, दाङकै रैथानेका रूपमा रहेका उमेश, हरि अनि सन्तोष र उनका साथीहरू क्रिकेटका खेलाडी थियौँ । मलाई दाङ प्रवेश गर्नुपूर्व क्रिकेटको कि पनि थाहा थिएन । ती भारतबाट पढ्न आएका साथीहरूको संगत र मेरो खेलप्रतिको रूचिले क्रिकेट हेर्ने र खेल्ने प्रेरणा मिलेको हो भनौँ । होस्टेलमा एउटा श्यामश्वेत टिभी थियो । चलचित्र हेर्ने कि क्रिकेट हेर्ने कुरामा हानथाप नै हुन्थ्यो । पाँच÷पाँच दिनसम्म चल्ने टेस्ट क्रिकेट पनि कुनै पनि भाग नछोडिकन हेरिन्थ्यो । क्याम्पसले आयोजना गर्ने क्रिकेट खेलमा पनि सहभागी भएर पुरस्कारका रूपमा प्लेट र प्रमाणपत्र पाएको क्षण पनि निकै सम्झना आइरहन्छ । एकताका मेरो कोठामा १२ देखि १५ वटा प्लेट जम्मा भएका थिए । दुई÷तीनवटा त मैले घरमा आमालाई देखाउनकै लागि पनि लगेको थिएँ । आफ्नो पौरख देखाउन भनूँ । अहिले सम्झँदा हाँसो नै लाग्छ भन्या । हामी बस्ने होस्टलको ठीक अगाडिपट्टि जनता मावि थियो र छ । ठूलो क्षेत्रफलमा फैलिएको त्यो विद्यालयको प्रांगण पनि फुटबल र क्रिकेटका लागि पर्याप्त मात्रमा पुग्ने चौर थियो र छ ।

त्यहाँ हिउँदमा मात्र खेलाइ हुन्थ्यो । बर्खा लागेसँगै त्यहाँ घाँसैघाँसै हुन्थ्यो । घाँस पनि यति लामो कि मान्छे नै लुक्ने हुन्थ्यो । मलाई अचम्म लाग्थ्यो, त्यति कुल्चिँदा, मिचिँदा पनि कसरी यति राम्रो घाँस आउन सकेको होला । साँच्चिकै, त्यो घाँस देखेर मोहित हुन्थेँ किनकि घाँस काटेर नै म हुर्किएको थिएँ । क्याम्पसको पढाइ सकिएपछि हामी बेलुकीपख त्यही चौरमा गएर क्रिकेट खेल्थ्यौँ । मलाई अझै पनि राम्रोसँग याद छ, सुरूका दिनहरूमा मैले उल्टो ब्याट समाउँथेँ । खै, पछि सुल्टो समाउन पुगेछु । क्रिकेट खेलाइका पछिल्ला चरणमा म राम्रै खेल्ने भएको थिएँ । एकापट्टिको टिमलाई नेतृत्व प्रदान गर्ने काम म आपैmँ गर्थेँ । वास्तवमा, म ज्यान दिएर खेल्थेँ । मैले १० औँला नै मर्काएको छु । दुःखाइको कारण रातभरि रूँदै बस्दै गरेको छु । आज आएर सम्झँदा लाग्छ, मैले कति मिहिनेत गरे हुँला ! साँच्चिकै समयमै मैले क्रिकेट खेल्ने अवसर पाउँथेँ भने राम्रो खेलाडी बन्थेँ भन्ने कुरा अझै पनि मलाई लागिरहन्छ । एउटा रमाइलो अनि सीप भन्छु, दाङकै जसपुर भन्ने ठाउँमा एकजना अधबैँसे दाइ हुनुहुन्थ्यो ।

खै अहिले हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन । अचम्म के थियो भने, वहाँले दुःखेको ठाउँमा छामेपछि, यो मर्केको हो, यो भाँच्चिएको हो वा सड्केको हो ठ्याक्कै थाहा पाउने र तानतुन पारिदिएर एउटा पट्टि बाँधिदिएपछि एकहप्तामा च्याट । अस्पतालले भाँच्चिएको हातलाई गलत प्लास्टर गरिदिँदा बांगिएका हात लिएर आउने मानिसहरूको लामो लाइन मैले दुईपटक यात्रामा देखेको छु । साथी अविनाश, सुदर्शन फास्ट बलिङ गर्थे भने पशुपति दाइ राम्रो ब्याटिङ गर्थे । अहिले सम्झन्छु, त्यो एउटा ब्याट पनि मेरा लागि गह्राँै हुन्थ्यो, जसोतसो उचालिन्थ्यो र घुमाइन्थ्यो । त्यही समयमा स्थानीय स्तरमा एकाध टुर्नामेन्टहरू पनि खेलेको स्मरण छ । त्यसताका साथी सन्तोष आयुर्वेद पढ्थे । हामी अन्य साथीहरू संस्कृत पढ्थ्यौँ । सन्तोष पनि क्रिकेट भनेपछि हुरूक्कै हुन्थे । तर, बलिङ गर्न प्रयास गर्दा पनि सिक्न सकेका थिएनन् । उनी थ्रो नै फाल्थे । साथी, यसरी त भएन भन्दा ‘के गर्छस् त बड्डा जति गरे पनि हुँदैन, काम चला’ भनेको बोली अहिले रमाइलो लागेर आउँछ अनि भित्रभित्र मुस्कुराउन बाध्य पारेको छ भनूँ । होस्टेल बसाइँको उत्तरार्धतिर अध्यापनमा व्यस्त अनि खेल्ने साथीहरूको पनि आआफ्नो गन्तव्यतिर लागेपछि ती स्मरणमा मात्र रहे पुगे अनि समयको क्रममा यसरी लिपिबद्ध पनि भए भनूँ ।

कालान्तरमा, काठमाडौंको एक दशकको बसाइँमा कहीँ न कहीँ खेलसँग जोडिएकै छ । हाल कार्यरत (डियरवाक सिफल स्कुल) संस्थामा खेलप्रति रूचि राख्ने थुप्रै साथी छन् । पाँचौँ वर्षको दौरानमा, सुरुआतीका दिनमा प्रत्येक शनिबार गोपीकृष्ण हलस्थित फुटसलमा फुटबल खेलियो । साथीहरूको तितरवितरका कारण यसले पनि लामो समयसम्म निरन्तरता पाउन सकेन । अहिले पनि अफिसको समाप्तिपछि हामी फुटबल खेल्छौँ । कहिलेकाहीँ त रातको आठ पनि बज्छ । शुक्रबार गुडफ्राइडेका नाममा सिफलस्थित चौरमा गएर क्रिकेट पनि खेल्छौँ । खेल भनेपछि सधैँ नै एक किसिमको ऊर्जा भइरहन्छ ।

लाग्छ, जीवनकै उत्तरार्धतिर हातखुट्टा कमजोर हुँदाका घडीमा पनि खेल भनेपछि मनचाहिँ सधैँ १६ वर्षे उमेरजस्तो भइरहन्छ ।

प्रतिक्रिया