विद्यालय सञ्चालन गर्दै भगवतीमाई

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ । पालिकाले एक निर्णय गरी कोभिड–१९ का कारण गत चैतदेखि बन्द भएका विद्यालय ४ असोजदेखि सञ्चालनमा ल्याउने भएको हो । पालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएर शून्य अवस्थामा पुग्दा पनि विद्यालय सञ्चालन हुन नसकेको भन्दै अभिभावकको चर्को दबाब आएपछि पालिका विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

शिक्षा विकास तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालन कार्यविधि २०७७ को ३३(२) मा निर्देशिकाले अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न बाधा नपर्ने भएबमोजिम विद्यालय सञ्चालन हुन लागेको उक्त पालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर विश्वकर्माले बताए । उनले भने, ‘विद्यालयमा सामाजिक सुरक्षाको मापदण्ड अपनाउँदै भगवतिमाई गाँउपालिका भित्रका ३२ वटा सामुदायिक विद्यालय र एक वटा संस्थागत विद्यालय गरी ३३ वटै विद्यालय सञ्चालन गर्ने लागिएको छ ।’

लामो समयसम्म विद्यालय सञ्चालन हुन नसक्दा निराश भएका विद्यार्थीहरू विद्यालय सञ्चालन हुने भएपछि खुसी भएका छन् । मंगलबार गाउँपालिकामा बसेको गाउँशिक्षा समितिको बैठकमा उपस्थित सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक, सात वटै वडाका वडाध्यक्ष र अभिभावकले विद्यालय खोल्ने निर्णय गरेकाले अब आइतबारबाट विद्यालय सञ्चालन हुने गाउँपालिका अध्यक्ष दानबहादुर थापाले सौर्य दैनिकलाई जानकारी दिएका छन् ।

गाउँपालिकामा पछिल्लो एक सातादेखि स्वाब परीक्षण गर्दा कुनै पनि नयाँ कोरोना संक्रमित नदेखिएकोले विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यार्थीलाई पढाउन लागिएको छ । गाउँपालिकाले जानकारी गराएअनुसार हरेक विद्यालयलाई गाउँपालिका तथा अन्य सहयोगीहरू सँगको सहकार्यमा स्वास्थ्य सामग्री प्रदान गरिनेछ ।

विद्यालयमा आवश्यक पर्ने औषधिसहित गाउँपालिकाभित्र रहेका स्वास्थ्यकर्मीहरूलाई खटाइनेछ र विद्यालयमा विद्यार्थीको स्वाब परीक्षणसमेत गरिनेछ । यदि केही लक्षण देखिएमा तत्काल उपचारको व्यवस्था मिलाउने गरी व्यवस्थापन गरिएको र बाहिरबाट विद्यालयमा हाजिर हुन आउने शिक्षकहरूले पिसिआर परीक्षण गरेर मात्र विद्यालयमा हाजिर हुन भनिएको भगवतीमाई गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया