उपत्यकामा जोर-विजोर मात्र यथावत

काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जोर÷विजोर मात्र बाँकी राखेर निषेधाज्ञा हटाएका छन् । मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेकाले बुधबार रातीसम्म कायम रहेको निषेधाज्ञालाई खुलाउँदै केही क्षेत्रमा कडाइ गरेका हुन् ।  काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्ला प्रशासन कार्यालयले होटल तथा रेस्टुरेन्ट सञ्चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएका छन् । निषेधाज्ञासम्बन्धी आदेशहरूको पुनरावलोकन गर्दै टेकअवे मात्र सञ्चालन गर्न दिइएको होटल तथा रेस्टुरेन्टहरूलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।

काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर÷विजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर÷विजोर प्रणाली अर्को आदेश नहुञ्जेल कायम रहनेछ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई खुला गरिएको छ । मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको छ ।

यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश बिहीबारदेखि लागू हुने छैन । उपत्यकामा सबैखाले पसल सबै बार खोल्न पाइनेछ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्यसम्बन्धी सावधानी अपनाएर खोल्न दिइएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृहसचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरूका गतिविधिबारे सूचना प्रकाशित गरेको छ । सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध ¥याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ ।

प्रतिक्रिया