दैनिक संक्रमितमा रेकर्ड

काठमाडौं । कोभिड–१९ का दैनिक संक्रमितको संख्याले बुधबार रेकर्ड राख्दै १ हजार ५ सय ३९ जनामा पुष्टि भएको छ । एकैदिन यति ठूलो संख्यामा संक्रमित भेटिएको यो पहिलोपटक हो ।  संक्रमितमध्ये २ सय ६४ अर्थात् एकतिहाइभन्दा बढी महिला छन् । केही सातादेखि संक्रमण भएका महिलाको संख्या बढेको छ । बुधबार सबैभन्दा बढी काठमाडौं जिल्लामा ६ सय ५२ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा २५ र ललितपुरमा ६० गरी उपत्यकामा ७ सय ३७ जना थपिएका छन् । उपत्यकामा भेटिएका संक्रमितमध्ये २ सय ६४ महिला छन् । काठमाडौंपछि सिराहामा २ सय ७४ जना संक्रमित थपिएका छन् । सिराहामा थपिएका संक्रमितमध्ये अधिकांश जेलमा रहेका कैदीबन्दी हुन् । जेलमा रहेका पाँच सय जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरी सुनसरीमा ७०, मोरङमा ३५, सप्तरीमा ४४, मकवानपुरमा ४९, कास्कीमा ३२, बाँकेमा ४४, रूपन्देहीमा ४५ र सल्यानमा ३३ जनामा कोभिड–१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट संक्रमणमुक्त भई घर फर्किनेको संख्या जम्मा १ हजार ६८ रहेको जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ छ । संंस्थागत आइसोलेसनमा रहेका व्यक्तिको संख्या ८ हजार ६ सय ४१ रहेको छ भने होम आइसोलेसनमा ७ हजार ७ सय १ जना छन् । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म ८ लाख ७२ हजार २ सय ७४ जनामा कोरोना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ सय ७९ जना पुगेको छ ।

मृत्युपछि परीक्षणमा रोक
शंकास्पद मृत्यु भएकाको नमुना निकालेर पिसिआर परीक्षण गर्नुनपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमुना निकाली पिसिआर परीक्षण नगर्न र नगराउन निर्देशन दिएको हो । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरू अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी गराए ।

त्यसैगरी मन्त्रालयले सबै प्रयोगशालाले कोभिड–१९ को परीक्षणका लागि लिएका नमुना नेगेटिभ नतिजा आएकाहरू एक महिना र पोजिटिभ आएकाहरू तीन महिनासम्म स्टोर गर्न निर्देशन दिएको छ । प्रवक्ता डा. गौतमले पिसिआर परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालुसमेत उल्लेख गरेर दिनुपर्ने प्रयोगशालालाई आग्रह गरेका छन् । सिटी भ्यालुले कति चक्रमा शंकास्पद नमुनाको भाइरसको अवशेष देखियो भन्ने जानकारी दिन्छ । मन्त्रालयले क्रिटिकल केयर विज्ञसहित टोली गठन गरी विभिन्न अस्पतालको सघन उपचार कक्षमा दिइएको सेवाका बारे पनि अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रिया