महँगी बाहुबलीकी शिवगामी ५० लागिन्

मुम्बई । भारतीय चलचित्र ‘बाहुबली’ बाट चर्चामा आएकी ‘शिवगामी देवी’ अर्थात् अभिनेत्री राम्या कृष्णन मंगलबारबाट ५० वर्ष लागेकी छन् । भारतमा उमेर बढेसँगै अभिनेत्रीको पारिश्रमिक कम हुने भए पनि उनको भने घटेको छैन झन् बढ्दै गएको छ । पारिश्रमिकका मामिलामा राम्याको अरूभन्दा फरक कहानी छ । दक्षिण भारतीय चलचित्रमा ५० को उमेरमा पनि उनले चल्तीका अभिनेत्रीभन्दा बढी पारिश्रमिक लिने गर्छिन् ।

चर्चित भारतीय चलचित्र ‘बाहुबली’ ले यसमा अभिनय गरेका थुप्रै कलाकारलाई नयाँ परिचय र चर्चा दिन सफल भयो । यो चलचित्र हिट भएसँगै यसमा काम गर्ने सबै कलाकारको पारिश्रमिक बढेको हो । यसमा अभिनेत्री राम्या पनि पर्छिन् । उनले ‘बाहुबली’ का दुवै भागमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यी चलचित्रमा दर्शकले उनको भूमिकालाई निकै मनपराए । यसपछि राम्याले पनि आफ्नो पारिश्रमिक बढाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अभिनेत्री राम्या अहिले दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेत्री तमन्ना भाटिया तथा रकुल प्रीत सिंहभन्दा बढी पारिश्रमिक लिने कलाकार हुन् । हालै उनले ‘सैलाजा रेड्डी अल्लुदु’ मा काम गर्दा एकदिनको ६ लाख पारिश्रमिक लिएको बताइन्छ । उक्त चलचित्रमा उनले २५ दिनको छायांकन सम्झौता गरेको जनाइएको छ । जस अनुसार उनको पारिश्रमिक डेढ करोड भारू हुन आउँछ । उनले लिएको यो पारिश्रमिक दक्षिण भारतीय सिनेमाका धेरै चर्चित अभिनेत्रीले लिने पारिश्रमिकभन्दा बढी हो । अभिनेत्री तमन्नाले एउटा चलचित्रमा काम गरेबापत ६५ लाख भारू लिन्छिन भने अर्की अभिनेत्री राकुलले प्रतिचलचित्र १ करोड लिने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण भारतीय चलचित्रमा चर्चित राम्याले एकताका बलिउडमा समेत काम गरेकी थिइन् । उनले बलिउड चलचित्र ‘खलनायक’, ‘क्रिमिनल’, ‘शपथ’ तथा ‘बडे मियां छोटे मियाँ’ लगायतमा काम गरेकी थिइन् । उनको बलिउड यात्रा त्यति लामो समयसम्म टिक्न सकेन । खासमा बलिउडमा काम गरेका चलचित्रले राम्रो गर्न नसकेको र प्रस्ताव पनि सोचे अनुसारको नआएपछि बलिउड छाडेको उनले बताउने गर्छिन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले ब्रेक लिएको हैन । खासमा मेरा सिनेमाले राम्रो प्रदर्शन गर्न सकेनन् र मैले आएका प्रस्तावमा खासै चासो लिइँन । फेरी यो समयमा मैले दक्षिण भारतीय सिनेमामा एकदमै राम्रो काम गरिरहेको थिएँ ।’

प्रतिक्रिया