बामदेवलाई आलोचना गर्नेप्रति यक्ष प्रश्न

डा. रामकुमार अधिकारी

केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नेकपाका नेता क. बामदेव गौतमलाई नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभाको सदस्य बनाउन गरेको निर्णयको चर्को आलोचना भइरहेको छ । केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामाथि नै प्रश्न उठाएका छन् । प्रश्न मात्रै उठाएका छैनन्, हदैसम्म लज्जित हुने भाषामा अपमान गर्दे गालीसमेत गरेका छन् । त्यसै गरी हाल केही बुद्धिजीवीहरूको प्राज्ञिक कौशलहरू यो वा त्यो नाममा क. बामदेवको आलोचना गर्नमै व्यस्त देखिन्छन् । उहाँका बारेमा निरन्तर अनेक आलोचना र टिप्पणी भएका कारण यसै सन्दर्भमा उहाँलाई जानेर बुझेअनुसार केही प्रष्ट्याउन चाहान्छु ।

१. बामदेव गौतम नेपालको कम्युनिस्ट आन्दोलनका समकालीन शीर्ष नेताहरू मध्ये एक हुनुहुन्छ । वहाँ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, पुष्पकमल दाहाल (प्रचन्ड), माधवकुमार नेपालका समकालीन नेता हुनुहुन्छ ।

२. नेपालको कम्युनिस्ट आन्दोलनमा बामदेवको ठूलो योगदान छ । कम्युनिस्ट पार्टीलाई अहिलेकोे उचाइमा पु¥याउन उहाँको अभूतपूर्व योगदान छ त्यसलाई भुल्न हुँदैन । उहाँको नाम, संघर्ष, निर्भीकता, निष्ठा, अडान, देशभक्ति र त्याग सुनेर नेपालमा धेरै मानिसहरू कम्युनिस्ट भएका छन् । वहाँ एक कुशल संगठक, सिद्धान्त पोख्त व्यक्तित्व हुनुहुन्छ ।

३. नेपालमा जनयुद्ध चरम ढंगले अगाडि बढीरहेको बेलामा ठूलो खतरा मोलेर रोल्पासम्म गई साहसिक रूपले निर्णय गरी जनयुद्ध र जनआन्दोलनलाई एकाकार गराई ०६२/६३ को आन्दोलन सम्भव गराउने र जनयुद्धलाई शान्तिपूर्ण अवतरण गर्ने काममा उहाँकोे ठूलो योगदान छ, तसर्थ वहाँ एक ऐतिहासिक व्यक्ति हुनुहुन्छ ।

४. नेपालको वर्तमान संविधान बनाउने कार्यमा क. बामदेवको ठूलो योगदान छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत संविधानका प्रमुख उपलब्धिहरू सम्भव गराउने कार्यमा उहाँको अहम् भूमिका रहेको कुरा नकार्न सकिन्न ।

५. नेपालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा चुनावी एकताका प्रमुख सूत्राधार मध्येका एक नेता क. बामदेव हुनुहुन्छ । यी दुई पार्टीबीच एकता गराउन उहाँको ठूलो भूमिका रहेको छ । त्यसबेला उहाँप्रति अनेक आरोप लागेका थिए । तर, उहाँले त्यसको प्रवाह नगरी पार्टी एकतालाई टुंगोमा पु¥याउनुभयो ।

६. क. बामदेव महान देशभक्त नेता हुन् । केही समयअगाडि नेपालको गुमेको भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक कदमको सूत्राधार मध्येका एक हुनुहुन्छ उहाँ ।

७. हालै मात्र नेपाल कम्युनिस्ट पार्टीलाई विभाजनको संघारबाट आफ्नो ६ बुँदे प्रस्तावमार्फत हस्तक्षेप गरी क. बामदेवले जोगाउने काम गर्नुभएको हो । कम्युनिस्ट पार्टीका लागि यो महान् र ऐतिहासिक काम हो । नेपाल कम्युनिस्ट पार्टीकोे इतिहासलाई हेर्ने हो भने पार्टी नेतृत्व संकट परेको बेलामा पार्टीलाई एक ढिक्का बनाउन क. बामदेवको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपाल कम्युनिस्ट पार्टीलाई एकीकरण गर्ने आधार तयार पार्ने र फुट्न लागेको कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउने नेता क. बामदेवको कदम देखेर प्रतिक्रियावादीहरू र तिनका मतियारहरू मर्माहत भएका छन् । देशभक्त नेतालाई देशद्रोही दलालहरूले विरोध गर्नु स्वाभाविक नै हो ।

८. मुलुकको यावत् समस्या समाधान गर्न, नेपाललाई दुनियाँको विकसित, समृद्ध मुलुक बनाउने सूत्रहरू सहितको, दिगो विकासका लक्ष, रणनीति, सूचांकहरू पूरा गर्न आवश्यक रणनीतिहरू, गर्नुपर्ने इन्टर्भेन्सनहरू सबै समेटेर लेखिएको ‘नेपाल निर्माणको महाअभियान’ पुस्तकलगायत अनेक महत्वपूर्ण राजनीतिक, साहित्यिक पुस्तकहरूका लेखक क. बामदेव गौतम हुनुहुन्छ ।

९. क. बामदेवसँग देश र जनताको उन्नति, प्रगति र समृद्धिको निम्ति भिजन, विचार, सपना, योजना र दृढ इच्छाशक्ति छ । उहाँमा देशले झेलेको भूकम्प, नाकाबन्दी, कोरोना र शताब्दिऔँ देखिको बेथितिका कारणले शिथिल अर्थतन्त्र सूधार्न एवं मुलुकले अनेक क्षेत्रमा छलाङ मार्न ‘समृद्धिको महाअभियान’ सञ्चालन गर्न व्यापक जनपरिचालन गर्न सक्ने क्षमता छ ।

१०. नेपालमा ठुल्ठूला उद्योेगहरू स्थापना हुन नदिने, लगानी मैत्री वातावरण हुन नदिने, नेपालीलाई गरिबै भएर बाँचेको देख्न चाहने, नेपालको अर्थतन्त्र ध्वस्त पार्न चाहने, नेपाललाई परर्निभर बनाइराख्न चाहने शक्तिहरूले पुनः नेपालमा अस्थिरता बढोस् भनेर प्रार्थना गरिरहेका छन् । संसारमा उदाहरणी बन्दै गएको नेपालको कम्युनिस्ट आन्दोलनलाई ती शक्तिहरूले निमिट्यान्न पार्न चाहन्छन् । ती अदृश्य शक्तिहरू राम्रा र आकर्षक देखिने नाराको आडमा राष्ट्रघाती काम गरिरहेका हुन्छन् र जनता झुक्याइरहेका हुन्छन् । दलाल पुँजीवादी प्रवृत्तिले आफ्नो कुरा सोझो भाषामा भन्दैन । त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा–पढ्दा राम्रा लाग्ने नारा र भनाई तयार गर्छन् र जनताको मनोविज्ञानको शोषण गर्छन् । त्यही दलाल प्रवृत्ति आज त्याग, निष्ठा र संघर्षको प्रतिमूर्ति क. बामदेव गौतमलाई तल्लो स्तरमा ओर्लिएर मानव सभ्यातालाई नै लज्जित पार्ने शब्दहरू बोलेर, लेखेर, ब्यंग्य गरेर अपमानित गरिरहेका छन् ।

११. बुद्धिजीवीहरूलाई प्रश्न, गौतम बुद्धले प्रतिपादन गरेको दर्शनमा अन्य धेरैले पिएचडी गरेका छन् । गौतम बुद्धले त कुनै डिग्री लिएका थिएनन् । तसर्थ अध्ययन, अनुभव र स्वःअध्ययनले कुनै विषयवस्तुमा गहिरो सैद्धान्तिक र व्यावहारिक ज्ञान भएको व्यक्ति त्यस विषयको विद्वान हुन्छ भन्ने कुरा स्पष्ट छ । ग्रिक दार्शनिकहरूले भनेका छन्, अध्ययन, अनुभव, स्वःअध्ययनले प्राप्त ज्ञान ‘समृद्ध’ हो भने परीक्षामा प्राप्त नम्बरको आधार र शैक्षिक डिग्री ‘खोला’ मात्र हो । ‘बिध्वता’ शैक्षिक डिग्री प्राप्त गरेकोजस्तो सजिलै प्राप्त गर्न सकिँदैन ।

१२. राजनीतिक, वैचारिक मुद्दा नभएका कतिपय फूर्सदिला, सामाजिक व्यक्तिहरू खुब कराउँछन्, बेमौसमी बाजा बझाउँछन् । मानिससँग तर्कको अन्त्य भएपछि र विवेक गुम्न थालेपछि नयाँ कथाहरू रचना गरेर होहल्ला गर्ने, गाली गर्ने मानिसको प्रवृत्ति हुन्छ । क. बामदेव गौतमका निम्ति राष्ट्रियसभाको सदस्य ठूलो पद होइन । उहाँ धेरैपटक चुनाव जित्नुभएको, धेरैपटक उपप्रधानमन्त्री भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । देशका महत्वपूर्ण व्यक्तिहरू रहने स्थान नै राष्ट्रियसभा हो । तत्कालीन एमाले र माओवादी केन्द्र बीचको चुनावी मोर्चा निर्माण र त्यसको व्यवस्थापनमा लामो समय दिनु पर्दा, आफ्नो निर्वाचन क्षेत्रमा समय दिन नपाउँदा र अन्य केही कारणले हालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले मात्र विजयी नहुनुभएका क. बामदेव गौतमजस्ता साहासिक, त्यागी, सिद्धान्तनिष्ट नेतालाई हदैसम्मको अपमान गर्नु र गर्न लगाउनु निःसन्देह कायरतापूर्ण कार्य हो । पहिले एउटा व्यक्तिलाई राष्ट्रिय सभा सदस्य बनाउँदा कुनै आवाज ननिकाल्ने तर क. बामदेव गौतमको हकमा किन हदैसम्मको विरोध गर्ने ? यो दोहोरो मापदण्ड भएन र ?

कम्युनिस्ट पार्टीको मुटु भनेकै विधि, पद्दती हो । निर्णय कार्यान्वयन गर्नु पार्टीको प्रमुख दायित्व हो । पार्टी सचिवालयले विधिसम्मत ढंगले निर्णय गरेको विषय कार्यान्वयन गर्ने कुरामा अनावश्यक होहल्ला गर्नु हुँदैन । लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउँछ । तर, आलोचनाको पनि निश्चित विधि, सीमा हुन्छन् होइन र ? वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्नै नहुने वा उहाँ सो पदमा जानु समाज नै ध्वस्त हुने वा त्यसले सामाजिक संरचना नै समाप्त पर्ने जस्तै गरी कोलाहाल गरी रहनुपर्ला जस्तो लाग्दैन । कुनै पनि व्यक्तिप्रति आलोचना वा टिप्पणीको हद हुन्छ । उहाँ जत्तिको मान्छे राष्ट्रियसभा सदस्य बन्नु ठूलो कुरा पनि होइन, त्यसैले कसैको पनि अवमूल्यन गर्ने वा आलोचना गर्दा हिजोको त्यस र समर्पणको बेवास्ता गर्ने काम उचित हुँदैन ।

(अधिकारीको फेसबुकबाट । उनी वागममती प्रदेशसभा सदस्य हुन् ।)

प्रतिक्रिया