कोरोनाबाट युएईमा थप पाँचजना नेपालीको मृत्यु

काठमाडौं । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको संघको कोभिड–१९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ । संघ र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा ५८ देशबाट ३ ५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो । सोही अवधिमा विदेशमा विभिन्न कारणले निधन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको संघले जनाएको छ ।

प्रतिक्रिया