काठमाडौं । कोभिड– १९ संक्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ ।
सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण गरिएको प्रदेश–३ का प्रदेशसभा सदस्य राजन दाहालले जानकारी दिए ।
ठेक्का प्राणालीबाट काम गर्दा बढी खर्चिलो र समयमा सम्पन्न नहुने भएपछि उपभोक्ता समितिमार्फत जनश्रमदान र सहयोग संकलन गरी उक्त आइसोलेसनको निर्माण गरिएको उनले बताए ।
ठेक्का प्रणालीबाट उक्त भवन निर्माणका लागि रु तीन करोड ३६ लाख प्रारम्भिक लागत अनुमान निकालिएको थियो । वरिपरी सालघारी र स्वस्थ हावापानी क्षेत्र छनोट गरी निर्माण सुरु गरिएको ५० श्यया क्षमताको उक्त आइसोलेसन भवन अबको १० दिनभित्र तयार हुने जनाइएको छ ।
निर्माण कार्यले केही दिनमै उल्लेख्य प्रगति हासिल गरेको र यसरी निर्माण गर्दा वास्तविक लागत समेत थाहा हुने नेकपा जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले बताए ।
एउटा २६ र अर्को दुई श्यया क्षमताका ती दुवै भवनको पर्खालको काम पूरा भइसकेको छ भने अब छानो, रङरोगन र कम्पाउण्ड निर्माण बाँकी रहेको बताइएको छ ।
उक्त भवन निर्माणमा स्थानीय संस्था र समितिले दैनिक सयौँको सङ्ख्यामा जनशक्ति परिचालन गरेका छन् । गुरुयोजना अनुरुपनै निर्माण कार्यअघि बढेकाले भवन तयार भएसँगै कोरोनाका बिरामीले त्यहाँबाट सबै उपचार सेवा पाउने छन् ।
उक्त आइसोलेसनका लागि प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले रु ९७ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने जिल्लाका दुई नगरपाकिलासहितका ९ वटै स्थानीय तहबाट पनि केही न केही सक्दो सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।
निर्माणाधीन उक्त आइसोलेसन भवनका लागि काठमाडौंको ॐ अस्पताल र भक्तपुर उद्योग वाणिज्य संघबाट रु दुईदुई लाख सहयोग प्राप्त भइसकेको छ ।
उक्त भवन निर्माणका लागि केही सामाजिक संघ संस्था र व्यक्तिले पनि सहयोग गरेका र आइसोलेसन तयार भएपछि जिल्लाका मात्र नभइ त्यस भेगका कोरोना संक्रमितले उपचारका लागि अन्यन्त्र धाउनुनपर्ने सांसद गणेश पहाडीले बताए ।
सिन्धुलीमा एक सय बढी नागरिकलाई कोरोना संक्रमण देखिएकोमा धेरैजसो निको भएर घर फर्किसकेका छन् । जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन सञ्चालनमा छन् । उक्त जिल्लामा हालसम्म कोभिड–१९ को संक्रमणबाट कसैको ज्यान गएको तथ्यांक छैन ।
आइसोलेसन भवनको काम सुरु भएसँगै संक्रमण फैलियो भने कहाँ गएर कसरी उपचार पाइएला भन्ने अन्योलमा परेका स्थानीयवासीको मनोबल बढेको गोलञ्जोर गाउँपालिका–१ का गणेश पहरीले बताए ।
प्रदेशसभा सदस्य दाहालले भने, ‘स्थानीयवासीलाई आइसोलेसन सेन्टर बनेपछि उत्साह बढेको छ, स्वच्छ वातावरण र वरिपरी हरियाली प्रकृतिभित्र बनाएको आइसोलेसन मुलुककै नमूना हुने छ ।’
प्रतिक्रिया