कालिकोट । महाबै गाउँपालिकामा वडाहरुमा स्टेचर नहुँदा बिरामी डोकोमा बोक्नुपर्ने समस्यालाई मध्यनजर गर्दै पत्रकार पुष्पराज भट्टराईले स्टेचर वितरण गरेका छन् । नेपाल प्रेस युनियन कालिकोटका उपाध्यक्ष एवं रेडियो मालिका एफएमका कार्यक्रम संयोजक भट्टराईले महावै गाउँपालिकालाई स्टेचर सहयोग गरेका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा पत्रकार भट्टराईले सडकको अभाव बुझि बिरामी बोक्ने स्टेचर ७ वटा वडालाई एक–एक वटा स्टेचर सहयोग गरेका छन् । उनले सामुदायिक रेडियो मालिका एफएममा कार्यक्रमको आयोजना गरि भट्टराईले महावै गाउँपालिकाका कर्मचारी खाम्मबहादुर सिंहलाई स्टेचर हस्तान्तरण गरेका हुन् ।
गत भदौ १ गते भएको महावै गाउँपालिकाको सार्वजनिक सुनुवाईमा एकजना स्वास्थ्यकर्मीले आफ्नो वडामा स्टेचरसमेत नभएको भनि प्रश्न राखेपछि भट्टराई आफ्नो जन्मदिनमा हुने फजुल खर्च कटाएर स्टेचर वितरण गरेको बताए । उनका अनुसार स्थानीय तह निर्वाचन भएको करिव ३ वर्षभन्दा बढी वितिसक्दा पनि महावै गाएँपालिका वडा नं ७ का नागरिकले स्टेचरसमेत पाएका थिएनन् ।
बिरामी बोक्न प्रयोग गरिने डोकोसमेत भाँचिएपछि नागरिकलाई समस्या भएको सार्वजनिक सुनुवाइमा कुरा उठेपछि भट्टराईले आफ्नो जन्मदिनमा ४० हजार २ सय रुपैयाँको लागतमा ७ वटा स्टेचर खरिद गरी सहयोग गरेको बताए । महावै गाउँपालिकाका नागरिक सामान्य विरामी पर्दासमेत बोक्नका लागि स्टेचर नभएपछि पत्रकारले विरामी लागि सहज होस् भन्ने हेतुले स्टेचर सहयोग गरेको उनले बताए ।
कार्यक्रममा रेडियो मालिका एफएमका अध्यक्ष मिनबहादुर बोगटीले जन्मदिनमा हुने अनावश्यक खर्च कटाई स्टेचर सहयोग गरेकोमा खुशी लागेको बताए । उनले, पत्रकारले स्टेचर सहयोग गर्नु नौलो कार्य भएकोसमेत बताए ।
त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति दमनबहादुर शाही र प्रेस संगठन नेपाल कालीकोटका अध्यक्ष भरतराज विष्टले सकारात्मक काममा सबैको सहयोग रहने भएकाले यस्तै सामाजिक कार्य गर्दै जानुपर्ने बताएा । उनीहरुले वडाले आफै खरिद गर्न सक्ने स्टेचरसमेत पत्रकारले उपहार दिँदा वडालाई चुनौती पनि भएको बताए ।
अरुले पत्रकारले गाउँपालिकालाई स्टेचर सहयोग गरेको भन्दै सामाजिक संञ्जालमा आलोचना गरेका छन् । स्थानीय सरकार संचालन भएको चार वर्ष वित्न लाग्दासमेत गाउँपालिका केन्द्रसम्म पनी सडक नखनिनु र अहिलेसम्म बिरामी स्टेचरमै वोक्नु दुखद रहेको नेकपाका नेता चित्रसिंहले प्रतिक्रिया दिए ।
कालिकाेट
प्रतिक्रिया