प्युठानमा ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा

प्युठान । प्युठानमा ५० वेडको आईसोलेसन कक्ष तयार गरि सञ्चालनमा ल्याइएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कोरोना संक्रमण बिरामीलाई व्यवस्थापन गर्न आइसोलेसन कक्ष तयार गरिएको हो । तयार गरिएको आईसोलेसन कक्ष स्वास्थ्यको मापदण्ड अनुसार निर्माण गरिएको केन्द्रले जानकारी दिएको छ ।

प्युठानको मध्यएरिया प्युठान नगरपालिका–४ विजुवारस्थित जेष्ठ नागरिक संरक्षण केन्द्रमा आईसोलेसन कक्ष तयार गरिएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला स्तरको आइसोलेसन केन्द्र तयार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

‘पछिल्लो समय सर्वसाधारणदेखि फ्रन्ट लाईमा काम गर्नेहरुमा समेत संक्रमण वढ्दै गएको छ,’ भुसालले भने, ‘जोखिमलाई मध्यनजर गर्दै तयारी स्वरुप कक्ष स्थापना गरिएको हो ।’ आईसोलेसन केन्द्र सञ्चालन मापदण्ड अनुसार सुरक्षा, एम्बुलेन्स, शववाहन, डाक्टरको व्यवस्थापनलगायत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन गरिएको उनले बताए ।

केन्द्रमा आवश्यकता अनुसार ७० बेडसम्म बनाउन सकिने क्षमताको रहेको उनले जानकारी दिए । सोमबार जिल्लास्थित नगर तथा गाउँपालिकाका मेयर तथा अध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालको उपस्थीतिमा केन्द्रको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तथा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पदम थापाले संकट व्यवस्थापनमा सवै पालिकाहरुको समन्वयकारी भूमिका हुनुपर्ने बताए । जिल्लामा हालसम्म ४४८ कोरोना सङ्क्रमित पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भएको छ । ३८८ जना निको भएर घर फर्किएको र ५९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया