भुम्लुमै ल्याब, अब बनेपासम्म पुग्नुपर्ने बाध्यताको अन्त्य

सल्लेभुम्लु । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा क्रमशः विकास निर्माण, स्वास्थ्य संस्थामा जनताको पँहुच बृद्धिमा अग्रसर बन्न थालेको छ । सिमित स्रोत र साधनहरुबीच स्थानीय तहको निर्वाचनपछि शून्य अवस्थामा रहेको विकास निर्माणलाई वर्तमान नेतृत्वले निकै गति दिन थालेको छ ।

केही वर्ष अघिसम्म स्वास्थ्य संस्थाहरुको भौतिक अवस्थामा निकै कमजोर मानिँदै आएको कोशीपारि क्षेत्रको भुम्लु गाउँपालिकाले यतीबेला स्वास्थ्य कार्यालयहरुबाट दिने सेवा र सुुविधामा निकै परिवर्तन गरेको छ । स्थानीय तहको निर्वाचन पूर्व सामान्य औषधि उपचार गराउनसमेत बनेपा र धुलिखेल पुग्नुपर्ने बाध्यताको अन्त्य स्थानीय सरकारले बनाएसँगै क्रमशः पुरा हुन थालेको हो ।

जिल्लाको भुम्लु गाउँपालिकाको प्रत्येक वडाको पायक पर्ने स्थानमा स्वास्थ्यचौकीबाट स्वास्थ्य सेवा पुर्याउँदै आएकोमा गत आइतबारबाट थप स्वास्थ्य प्रयोगशाला (ल्याब) को समेत स्थापना भएसँगै जनताको स्वास्थ्यमा भुम्लु गाउँपालिका निकै जिम्मेवार बनेको देखिएको छ ।

उक्त गाउँपालिकामा आफ्नै स्वास्थ्य प्रयोगशाला सुरु भएसँगै त्यहाँबाट दर्जनौँ परीक्षण गर्न सकिने गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । अध्यक्ष कुँवरले उक्त गाउँपालिका वडा नं ८ मा रहेको स्वास्थ्य चौकीमा ल्याबको उद्घाटन गर्दै ल्यावबाट धेरैभन्दा धेरै भुम्लुका जनताले सेवा पाउँने विश्वास व्यक्त गरे ।

जनताले पाउँने अत्यावश्यक स्वास्थ्य सेवा दिलाउँन गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै उनले कोभिडको विषय परिस्थितीमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने महान कार्यमा खटिएका स्वास्थ्यकर्मीप्रति अध्यक्ष कुँवरले सम्मान व्यक्त गरे ।
रगत, दिशा पिसाब लगायतका चेकजाँच गाउँमै हुने भएसँगै स्थानीयहरु खुशी भएका छन् । गाउँमै ल्याब आएसँगै स्थानीय सरकारले निर्वाचनमा बोलेका प्रतिबद्धता पुरा गर्न थालेको स्थानीयले बताए ।

ल्याब उद्घाटन कार्यक्रममा वडाध्यक्ष मोतिलाल लामा, रमेश खरेल, प्रमुख प्रशासकीय अधिकृत मदन बजगाँई, अधिकृत रुपक अधिकारी, स्वास्थ्य शाखाका प्रमुख सुदर्शन भट्टराई लगायत सहभागी थिए । भुम्लु गाउँपालिकामा सबै वडामा स्वास्थ्य कार्यालय र भुगोल ठूलो भएको तथा जनसंख्याको आधारमा थप चारवटा स्वास्थ्य इकाइसमेत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया