तीन वर्षदेखि त्रिपालमुनि वास

जिल्लाको बागचौर नगरपालिका–३ खालीका मानबहादुर सुनारको परिवार तीन वर्षदेखि त्रिपालमुनि वास बस्दै आएको छ । आर्थिक अवस्था कमजोर भएपछि मानबहादुरसहित पाँच जनाको परिवार त्रिपालमुनि बस्न बाध्य भएको हो ।

करिब १५ वर्षअघि सगोलको परिवारबाट अलग भएर बसेका मानबहादुर घर बनाउने र परिवार सुखसँग पाल्ने सपना बोकेर मजदुरी गर्न भारतमा पुगे । भारतमै उनकी पत्नी दीर्घरोगी भएपछि उनको सपना मात्र होइन आर्थिक अवस्था जर्जर भएर वर्षात्मा समेत बालबच्चासहित त्रिपालमुनि बस्दै आएका छन् ।

तीन बालबच्चासहित बस्दै आएका मानबहादुरले पत्नीको उपचारमै धेरै पैसा खर्च गरिसकेका छन् तपनि न त रोग सञ्चो भयो न त पैसाको जोहो नै गर्न सके । तीन वर्षअघि भारतबाट गाउँमा फर्किएका मानबहादुर त्यही पुरानो त्रिपालको सहारामा बाँचेका छन् ।

‘छानो बनाएको त्रिपाल पनि मक्किन लागिसकेको छ, ठूलो पानी पर्दा भित्रै छिरेर सबै भिजाउँछ, न घर छ न पैसा छ यस्तो जिन्दगी मैले त भोगेँ अरू कसैले भोग्नु नपरोस्’, मानबहादुरले भने, ‘भारतमा मजदुरी गर्न जाँदा एउटा घर बनाउने सपना बोकेर गएको थिएँ तर आउँदा पैसा त के पत्नीकै उपचारमा सबै पैसा सकेर आएँ अब न घर बन्ने भयो न सम्पत्ती नै छ ।’

त्रिपालमुनि बसिरहेका मानबहादुरको परिवारलाई गाउँमा रहेको सिंहदरबारले देख्न सकेन । मानबहादुरलाई पानीको ओतलाग्ने त्रिपालको चिन्ता मात्रै छैन आफ्ना सन्तानको कसरी छाक टार्ने भन्ने चिन्ता छ त्यसमा अझै बिरामी पत्नीको हेरचाहको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।

‘देशमा लक डाउन छ यताउति गएर काम गरेर कमाउने अवस्था छैन, साना छोराछोरी छोडेर जानसक्ने अवस्था नि छैन न सरकारले हेरेको छ’, मानबहादुरले भने । बेलाबेलामा छोराछोरीको भविष्यको चिन्ताले सताउने गरेको उनको भनाइ छ । ‘मलाई अहिले चाहिएको बस्ने वास मात्रै हो वास भयो भने त केही कमाउन सक्छु कि भन्ने आँट छ तर वास नै छैन कतिबेला हावाले त्रिपाल उडाउँछ र बिचल्ली हुन्छ भन्ने चिन्ता मात्रै लग्छ, साना छोराछोरीको भविष्यको बारेमा चिन्ताले खान मन लाग्दैन’, मानबहादुरले भने ।

संघीय गणतन्त्र आएपछि गाउँमै आएको सिंहदरबार पनि खासै गरिबलाई नहेरेको उनको भनाइ छ । ‘सबैले भोट हालेर जिताएपछि यहीँ सरकार आउँछ सबैलाई सहयोग गर्छ भनेका थिए हामीलाई कसैले हेरेन’, सुनारले भने ।

‘सधैँ सहयोग र मागेर चल्दैन, बरु बस्ने सानो झुपडीसम्म कसैले सहयोग गरेमा यी साना नानीहरूको भविष्य अन्धकार हुने थिएन, त्रिपालमुनि बस्दाको समस्या कति हुन्छ त्यो मैले भोगिसकँे अब मेरा छोराछोरीले नभोगुन्’, सुनारले भने ।

यसैबीच बुधबार दलित नागरिक समाज बागचौर सल्यानको पहलमा उनलाई खाद्यान्न र आर्थिक सहयोग गरिएको छ । चामल, दाल, नुन, तेल, साबुन लगायतको खाद्यान्न सामग्री र दुई हजार रुपैयाँ उनलाई सहयोग गरिएको दलित अभियन्ता प्रेमनारायण विकले जानकारी दिए । यो सहयोग केही दिनका लागि मात्रै पुग्ने भएकोले पुन सुनारलाई आर्थिक संकट पर्ने भएकाले सहयोग गर्न विकले अनुरोध गरे ।

प्रतिक्रिया