प्रदेश–१ द्वारा कोरोना नियन्त्रणका लागि १ करोड ६० लाख निकासा

विराटनगर । प्रदेश–१ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पतालहरूलाई रकम उपलब्ध गराएको छ । आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो ।

स्थानीय तहहरूलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पताललाई कम्तिमा १० वेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ ।

केही दिनअगाडि मात्र थप आइसोलेसन बेडहरूको व्यवस्था गर्न प्रदेश स्तरीय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले बिराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनका लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।

रंगेली नगरपालिका–७ स्थित श्री जनता क्याम्पसको भवनमा सय बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित बि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा सय बेड क्षमताको आइसोलेसनको लागि १५ लाख र सोलुदूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न पाँच लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

त्यस्तै प्रदेश–१ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरूलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न पाँच लाखका दरले एकमुष्ठ ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई पाँच लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच÷पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

प्रतिक्रिया