रौतहटमा चार दिनमा ६२ जना संक्रमित

रौतहट । जिल्लामा पछिल्लो चार दिन यता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार गुजरा नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

पछिल्लो चार दिन यता जिल्लाका विभिन्न ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसले रौतहटमा समुदायस्तरमा कोरोना फैलिएको पुष्टिसमेत गरिदिएको छ । जिल्लाको गौर नगरपालिकाका आइतबार १५ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने सोमबार राजदेवी नगरपालिकाका १९ र कटहरिया नगरपािलकाका नौ जना तथा मंगलबार गरुडा नगरपालिकाका ११ जना र चन्द्रपुर नगरपालिकाका पाँच जनामा संक्रमण देखिएको थियो । २३ साउनमा गुजरा नगरपालिकाका ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा तीन जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए ।

हेटाैँडा प्रयोगशालाले दिएको रिपोर्टमा दुई जना स्वास्थ्यकर्मी र एक जना सरसफाई कर्मचारीमा संक्रमण पुष्टी भएको उनले जानकारी दिए । सक्रमितहरू २५, २६ र २७ वर्षको पुरुष रहेको र उनीहरूको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको गुप्ताले बताए । संक्रमितहरूलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने तयारी रहेको छ । स्थानीय सरकारहरूले कोरोनाविरुद्ध उचित जनचेतना फैलाउन नसक्नु र स्थानीय जनताहरूले हेलचेक्राई गर्दै भिडभाड गर्नुले कोरोना संक्रमण फैलिएको र आउँदा दिनहरूमा सचेत नभए झनै फैलिने चिकित्सकहरूको भनाइ छ ।

प्रतिक्रिया