‘सालको पात टपरी’ को सर्वाधिक ‘भ्युज’

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाखभन्दा बढी ‘भ्युज’ बटुलेको छ । सालको पातले पाएको भ्युज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक हो । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको छ । चार महिना नबित्दै युट्युबमा सालको पातले दुई करोड भ्युज नाघेको थियो ।

यो गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको मीठो स्वर छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले संगीत दिएका छन् । स्रोता÷दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्युज निरन्तर बढिरहेको छ । यो गीत पछिल्लो एक महिनामा मात्रै झण्डै दश लाख पटक हेरिएको छ । ‘स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो’, संगीतकार थापाले भने ।

झ्याउरे लयमा ठेट जनजिब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र संगीतकार थापाको अभिनय छ । निर्देशन शिव बिकले गरेका छन् । हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । ‘मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो,’ उनले भने ।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको बताए । उनको सांगीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । एक लाख सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले अर्वाडसमेत पाइसकेको छ ।

अहिले उक्त च्यानलको सब्सक्राइब झण्डै छ लाख पुगेको छ । गीतका बारेमा युट्युबमा १३ हजार बढीले प्रतिक्रिया जनाएका छन् । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ ।

अमेरिका, युरोपलगायतका देशबाट हेर्दा बढी पैसा आउँछ । सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कलाकार बताउँछन् । श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै संगीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले संगीत बजारको स्वरुप बदलेको छ । सालको पातले पनि सम्बन्धित लगानीकर्ता÷कलाकारलाई आकर्षक कमाइ दिलाएको छ । गायक विश्वकर्मा र संगीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ । ‘शब्द रचना प्रह्दाद सुवेदीले गर्नुभएको छ, गायिका को राख्ने निश्चित भइसकेको छैन,’ थापाले भने ।

मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को भिडियोले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । गत वर्ष सार्वजनिक गीतले हालसम्म चार करोड १४ लाखभन्दा बढी भ्युज बटुलेको छ । सार्वजनिक भएको केही सातासम्म उक्त गीत युट्युबमा सर्वाधिक हेरिएको मध्ये १ नम्बरमा थियो ।

गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, संगीत र भिडियो निर्देशन पनि सपुतकै छ । भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायांकन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको छ । गीतले परम्परागत रोधीको झल्को दिन्छ । मौलिक शब्द, संगीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका हुन् । कथात्मक शैली, अनौपचारिक प्रस्तुति, ठेट संवाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । उक्त गीत भाका नेपाल प्रालिले निर्माण गरेको हो । सपुतको गत साता सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि अहिले युट्युब ट्रेन्डिङको नम्बर एकमा छ । गीतको भ्युज २४ लाख नाघेको छ ।

प्रतिक्रिया