‘हु तु तु’ बन्ने

काठमाडौं । निर्माता सन्तोष सेनले नयाँ चलचित्र ‘हु तु तु’ बनाउने भएका छन् । यसअघि ‘प्रेम गीत’ सहित तीन सिक्वेल चलचित्र बनाइसकेका निर्माता सेनले सामाजिक सञ्जालमार्फत ‘हु तु तु’ को निर्माण घोषणा गरेका हुन् । उनले उक्त घोषणासँगै चलचित्रका लागि छानिएका कलाकारको नाम समेत सार्वजनिक गरेका छन् ।

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको उक्त चलचित्रमा अभिनेता हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकार छनोट भएको सेनले उल्लेख गरेका छन् । उनका अनुसार केही कलाकार अझै छनोट हुन बाँकी रहेका छन् ।

कमेडी जनरामा बन्ने यस चलचित्रको निर्देशन छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा गर्ने जनाइएको छ । अहिले चलचित्रको लेखन कार्यका लागि निर्देशकद्वय गुरुङ र सेन यतिबेला पोखरामा छन् । चलचित्रको लेखन केही दिनमै सकेपछि काठमाडौं फर्किने निर्माता निर्देशक सेनले बताए । उनले भने, ‘फिल्मको केही कलाकारसमेत छिट्टै छनोट गरेर छायांकनका लागि जुट्ने छौँ ।’

सेनको निर्माण तथा निर्देशन रहेको ‘प्रेम गीत ३’ कोरोनाका महामारीका कारण रिलिज स्थगित भएर बसेको छ । यो चलचित्र आगामी चैतमा रिलिज गर्ने निर्माण पक्षले तयारी गरिरहेको छ ।

प्रतिक्रिया