पहिरोले नहर भत्किँदा किसान चिन्तित

बझाङ । वर्षासँगै खसेको पहिरोले सुवेडा जिउलो सिँचाइ नहर भत्किँदा बझाङको जयपृथ्वीनगरपालिका–७ सुवेडा गाउँका किसानहरू चिन्तित भएका छन् ।

धौलाबगर नजिकै खसेको पहिरोले सुवेडा मल्लो जिउलो सिचाइँ नहरको करिब दुई सय मिटर नहर पूर्णरूपमा भत्किएको छ । सिचाइँ नहर भत्किएपछि पानीको अभावले सुवेडा जिउलास्थित करिब ८० हेक्टर जमिनमा लगाइएको धान खेतीमा असर पुगेको स्aथानीयवासीले जनाएका छन् । नहर भत्किएर पानी अवरुद्ध हुँदा यतिखेर सुवेडा गाउँका किसानहरू यस वर्ष धान उत्पादन घट्ने चिन्तामा छन् ।

यसअघि पनि सोही स्थानमा पहिरो खस्दा, सुवेडा जिउलो सिचाइँ नहर पटकपटक अवरुद्ध हँुदै आएको थियो । पहिरोले नहरको अधिकांश भाग भत्किएको छ भने नहरसँगै जोडिएको कच्ची सडक पनि अवरुद्ध भएको छ । करिब एक करोडको लागतमा निर्माण गरिएको उक्त सिँचाइ नहर निर्माण भएको एक वर्षमै भत्किएको स्थानीयवासीले जानकारी दिएका छन् ।

पहिरोले नहरसँगै जोडिएको करिब १ सय ५० मिटर कच्ची सडक पनि बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको छ । उपभोक्त समितिमार्फत करोडाँै रकम खर्च गरी निर्माण गरिएको उक्त नहरको माथिल्लो भागमा वाल नबनाउँदा पहिरो गएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया