‘पूर्ण लकडाउन हुदैन’

काठमाडौं । सरकारले कोरोना महामारीको अहिलेको अवस्थालाई मूल्यांकन गरी देशव्यापी लकडाउन नगर्ने स्पष्ट पारेको छ । देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको सरकारले स्पष्ट पारेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले अहिलेको अवस्थालाई हेरेर तत्काल सो कदम चाल्ने स्थितिमा सरकार नपुगेको बताए । जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने उने बताए । संक्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र संक्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताए ।

‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौँ । चैत १० गते रातिदेखि लकडाउन भनेर जसरी गएका थियौँ, त्यो विधिबाट जानेतर्फ अहिले सरकारले सोचेको छैन’, मन्त्री खतिवडाले भने, ‘आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन त गरिएकै छ ।’

उनले पूर्ण लकडाउन हुन्छ कि भनेर नआत्तिन आग्रह गर्दै आफू संक्रमित हुन्छु कि, मबाट अरु संक्रमित हुन्छन् कि भनेर ध्यान पु¥याउन अपिल गरे । मन्त्री खतिवडाले आगामी भदौं एक गतेबाट खुला गर्ने भनिएका सम्पूर्ण क्षेत्रबारे सरकारले पुनर्बिचार गर्ने पनि उल्लेख गरे । सरकारले भदौ १ गतेबाट राष्ट्रिय अन्तराष्ट्रिय उडान र लामो दुरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । त्यसविषयमा सिसिएमसीको बैठक बसेर थप निर्णय हुने उनले जानकारी दिए ।

काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ । यसैबीच, मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने उनको भनाई छ ।

प्रतिक्रिया