पर्यटक स्वागतको पर्खाइमा पोखराका होटेल

सरकारको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पर्यटकले कोठा छोडिसकेपछि अनिवार्य स्यानिटाइज गर्दै न्यूनतम ७२ घण्टासम्म त्यो कोठा अर्को पर्यटकलाई नदिने व्यवसायीले बताएका छन् । लामो समयसम्मको बन्दाबन्दीका कारण घरभित्रै बसी उकुसमुकुस भएका आन्तरिक पर्यटक पर्यटन क्षेत्र खुलेसँगै पोखरामा आउने अपेक्षा गरिएको छ ।

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरू पोखरा बास बसेका थिए ।

त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एकदशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए ।

हिप्पी पर्यटककको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो । हालसम्म आइपुग्दा यहाँका व्यवसायीले पर्यटन क्षेत्रमा लक्षित गरी दुई खर्बभन्दा बढी लगानी गरिसकेको होटेल संघ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटेल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए ।

प्रकृति र संस्कृतिले सम्पन्न पोखराको पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै लगानी बढाइरहँदा यहाँका व्यवसायीले पटकपटक विभिन्न चुनौतीको सामना पनि गरिरहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । यसअघि भूकम्प, नाकाबन्दी, हुदहुद (एक खालको हिमआँधी), अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न चुनौतीको सामना गरेको पोखराको पर्यटन यतिखेर विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको चपेटामा नराम्रोसँग परेको छ ।

कोरोना महामारी फैलिन नदिनका लागि सरकारले चार महिनासम्म गरेको बन्दाबन्दीका कारण चार महिनासम्म बन्द भएका यहाँका होटेलका ढोका १५ साउनदेखि खुलेका त छन् तर पर्यटक भने छैनन् । नेपाल सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णयसँगै अन्यत्रजस्तै यहाँका होटेलका ढोका खुलेका हुन् । तर, पाहुनाको पर्खाइ कतिसम्म लामो हुन्छ भन्ने कुनै ठेगान छैन । पछिल्ला वर्षमा पोखराका होटेलमा बढ्दो लगानीसँगै पर्यटक लक्षित सुविधा सम्पन्न होटेल ६ सयको संख्यामा रहेको बताउँदै पराजुलीले पोखराका पृथ्वीचोक, महेन्द्रपुल लगायतका क्षेत्रमा अरू दुई सयको संख्यामा होटेल रहेको जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटेलमा पूर्वाधार थप गर्न पछिल्लो समयमा मात्रै झण्डै १५ अर्ब रुपैयाँ थप लगानी गरिएको छ । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै पोखरामा साना तथा मझौला गरी ३० प्रतिशतजति होटेल खुले पनि अधिकांश पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।

‘हामीहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डानुसार होटेल खोल्ने तयारीमा लागेका छौँ,’ उनले भने, ‘पोखराका होटेल बस्नका लागि पूर्णतः सुरक्षित छन् भन्ने अनुभूति हुनेगरी कर्मचारीलाई होटेल को स्यानिटाइज गर्ने, आउने पर्यटकसँग गरिने व्यवहार, स्वास्थ्य सजगता लगायतका विषयमा तालिम दिने क्रममा छौँ ।’ कतिपय होटेलमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण घरमा गएको र उनीहरू फर्किनसकेको उनले जानकारी दिए ।

१५ साउनदेखि होटेलका ढोका खुलेसँगै विस्तारै चहलपहल बढे पनि आन्तरिक तथा बाह्य उडान खुुलिनसकेको र सडक यातायात पनि सहज भइनसकेका कारण पर्यटक आइनसकेको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष एवं होटेल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले बताए ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई होटेलमा पूर्णतः कार्यान्वयनमा ल्याउँदै पोखरा भित्रने पर्यटकलाई यहाँ बस्न खान सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा दिने कुरामा आफूहरू प्रतिबद्ध भएको उनले बताए ।

‘पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यतिखेर होटेल व्यवसायी आआफ्ना होटेललाई पूर्णरूपमा सरसफाइसहित स्यानिटाइज गर्ने काममा जुटिसकेका छन्,’ उनले भने, ‘प्रत्येक होटेलमा छिर्ने पर्यटकको तापक्रम लिने, हेन्ड स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न लगाउनेजस्ता कुरामा कर्मचारीलाई तालिम दिइएको छ ।’

सरकारको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पर्यटकले कोठा छोडिसकेपछि अनिवार्य स्यानिटाइज गर्दै न्यूनतम ७२ घण्टासम्म त्यो कोठा अर्को पर्यटकलाई नदिने व्यवसायीले बताएका छन् । लामो समयसम्मको बन्दाबन्दीका कारण घरभित्रै बसी उकुसमुकुस भएका आन्तरिक पर्यटक पर्यटन क्षेत्र खुलेसँगै पोखरामा आउने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

सरकारले आन्तरिक तथा बाह्य उडान खोलेसँगै पर्यटकीय गतिवधि बढ्ने बताउँदै उनले त्यसको पूर्वतयारीमा व्यवसायी जुटिसकेको जानकारी दिए । माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमशृंखलाको दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुचि राख्ने पर्यटक पोखरा आउने गर्दछन् ।

नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक दुई÷चार दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको पाइन्छ । पोखरालाई मुख्य आधार बनाएर गरिने अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुन हिल आदि स्थानमा पदयात्रामा जाने पर्यटकले आउँदाजाँदा यहाँ केही दिन बिताउने गर्दछन् । माछापुच्छ«े हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तुपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोटजस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् ।

महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् । यी स्थानका अतिरिक्त रामसार सूचीमा सूचीकृत फेवातालसहित पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका बेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनीजस्ता तालले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ ।

पोखरा हुँदै हिमालपारीको जिल्लास्थित पवित्र तीर्थस्थल मुक्तिनाथको दर्शनमा जाने दर्शनार्थी हुन् वा यही आसपासका तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव लगायतका स्थलमा दर्शनका लागि पनि पर्यटक आउने गर्दछन् ।

फेवातालमा डुंगामा सयर गर्ने होस् वा सराङकोटबाट हावामा खेल्दै प्याराग्लाइडिङ गरी फेवाताल किनारामा चराजस्तै उडेर झर्नेलगायतका पर्यटकीय गतिविधिमा पोखरामा आउने पर्यटक सहभागी बन्ने गरेका छन् । साहसिक पर्यटनका लागि बञ्जी जम्प, जिपलाइन आदि पनि यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।

विदेशी पर्यटकको आगमनसँगै पोखरामा पछिल्ला समयमा अतिविशिष्ट व्यक्तिको आगमन हुने क्रम पनि उत्तिकै बढेको छ । पोखरामा ०७२ को चैतमा सम्पन्न भएको सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन) ले यो ठाउँ अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्न सकिने स्थल भएको पुष्टि गरेको छ । खेलकुदका क्षेत्रमा पनि अघिल्लो वर्ष सम्पन्न १७औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का केही खेल पोखरामा सम्पन्न भएका थिए । विशिष्ट व्यक्तिको भ्रमणका साथै सम्पन्न भएको मिनी सार्क सम्मेलन, दक्षिण एसियाली खेलकुद आदिका कारण पनि पछिल्ला समयमा यहाँका होटेलमा व्यवसायीले लगानी बढाउँदै गएको पाइन्छ ।

पोखराको पर्यटकीय सुन्दरताले विदेशी राष्ट्रका अतिविशिष्ट व्यक्तित्व लोभिनुले पनि यहाँको पर्यटनले विश्व बजारमा नै चासो र चर्चा पाउन थालेको छ । सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखराको भ्रमण गरेकी थिइन् भने सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन् पनि पोखरा आएका थिए ।

त्यस्तै ०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सार्क राष्ट्रका विशिष्ट पाहुना पोखरामा बसी यहाँको मुक्तकण्ठले प्रशंसा गरेका थिए । त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई यहाँको सुन्दरताले आकर्षित गरेको कुरा त नेपालका कैयौँ सञ्चारमाध्यममा आएकै हो । त्यस्तै ०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भ्रमण गरेका पोखरामा त्यसपछि अर्थात् सन् २०१९ मा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पनि आएका थिए ।

पछिल्ला समयमा विभिन्न चलचित्र होस् वा गीतका म्युजिक भिडियो रेकर्ड गर्ने स्थलका रूपमा पनि पोखरा आकर्षक गन्तव्य बन्दै गएको छ । पोखराको पर्यटकीय सुन्दरतालाई दृष्टिगत गर्दै वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको यो गीत स्मरण मात्र गरे पनि यहाँको बाँकी सुन्दरता वयान गर्नका लागि धेरै शब्द खर्चिनै पर्दैन ।

‘पोखरा त साँच्चिकै पो पोखरा नै रैछ,
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ ।’

प्रतिक्रिया