लोप हुने खतरामा सारस

आइयुसिएनले संकटापन्न पंक्षीको सूचीमा राखेको सारसले अहिले नेपालको लुम्बिनी क्षेत्रमा धमाधम बच्चा कोरलिरहेको छ । विज्ञहरूका अनुसार सारसले बच्चा कोरल्न एकान्त खोज्ने हुँदा अहिले धानखेतीको बीचमा ओथारो बसेको देखिन्छ । नेपाल सरकारले संरक्षित पंक्षीको सूचीमा राखेको सारस उड्ने प्रजातिका चरामध्ये सबैभन्दा अग्लो चरा मानिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार केही वर्ष अगाडिसम्म चितवनसहित त्यस पश्चिम तराईका सबै जिल्लामा देखिने सारसहरू अहिले लुम्बिनी क्षेत्र वरिपरि मात्र सीमित भएको पाइन्छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वर्षायाम सारसले बच्चा कोरल्ने समय हो । प्राचीन संस्कृत साहित्य तथा बौद्धकथाहरूमा पनि वर्णित ती चराहरू अहिले धानखेत र सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोरल्न बसेको देखिन्छ ।

‘सारसहरू यति बेला बच्चा कोरल्न बसेका छन् । यिनलाई बच्चा कोरल्न करिब दुई महिना लाग्छ,’ श्रेष्ठले भने । विज्ञहरूका अनुसार सारसले एक वर्षमा बढीमा दुई वटा मात्र अण्डा पार्छ । पंक्षीविद् हेमसागर बराल सारसहरू अहिले नेपालमा बाँच्नकै लागि संघर्ष गरेको अवस्थामा रहेको बताए । उनका अनुसार पहिला बर्दिया जिल्लामा यिनीहरूको राम्रो संख्या थियो तर अहिले छैन । बाँके र कञ्चनपुरमा पनि केही संख्यामा देखिएका छन्, तर ती सारस भारतबाट आएका हुन् । नेपालमा सारसको संख्या ४ सयदेखि ७ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । सरकारी तथ्यांकअनुसार ती मध्ये ९० प्रतिशतभन्दा बढी चरा कपिलवस्तु, रूपन्देही तथा नवलपरासीमा छन् ।

सारसलाई प्रेमको प्रतीकका रूपमा हेरिने गरेको छ । पंक्षीविद् बरालका अनुसार एकपटक जोडी बनेका सारसका भालेपोथी हत्तपत्त छुट्टिएको पाइँदैन । ‘पोथी मरे पनि भाले अर्कोसँग लाग्दैन भन्ने कुरा छ, तर त्यसको अध्ययन भएको छैन,’ उनी भन्छन् । सिमसार क्षेत्र एकान्त तथा शान्त ठाउँमा बस्न रुचाउने सारसको संरक्षणको लागि गुँड व्यवस्थापनमा ध्यान नपु¥याए यो चरा नेपालबाट नै लोप हुन सक्ने खतरा रहेको विज्ञहरूको भनाइ छ । सारसको बसोवासका लागि आवश्यक पर्ने क्षेत्रहरू खुम्चिँदै गएपछि पछिल्लोपटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाले सारसको संरक्षणका लागि योजना बनाएर काम गर्ने तयारी गरेको विभागका अधिकारीहरू बताउँछन् । तर, संरक्षणको काम पर्याप्त नभएको विज्ञहरु बताउँछन् । (बिबिसी)

प्रतिक्रिया