गाईमा नयाँ भाइरसको संक्रमण

चितवन । दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिएको चितवनमा गाईमा नयाँ किसिमको संक्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो संक्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको संक्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा दयाराम चापागाईंले जानकारी दिए । शुरुवातमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए । अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ । यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताउनुभयो । उनले भने, ‘असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौं ।’

कार्यालयले रोगबाट संक्रमित घरधुरी र गाईको संख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले बताए । कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरेको उहाँले जानकारी दिए । प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक÷दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ । केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन् । चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन ।

राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा शुरुमा समस्या देखिएको थियो । ‘गाईको शरीरभरि घाउ आएको छ’, उनले भने, ‘राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ ।’ कात्तिकमा ब्याएको गाईले दैनिक १४÷१५ लिटर दूध घटाएर तीनदेखि चार लिटरमात्र दिन थालेको उनले बताए । गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ । प्राविधिकले हेरेर शुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको उहाँले बताउनुभयो । शुरुमा आफ्नो गाईमा समस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रोग देखिएको अर्यालले बताए ।

यो रोग लाग्ने गाईमा शुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेको छ । प्राविधिकले लक्षणका आधारमा उपचार भइरहेको जनाएका छन् । पोटासले शरीर धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । नगरका अधिकांश किसानका गाईको नमूना संकलन गरिएको छ । यो रोग धेरै क्षेत्रमा बढ्नसक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया