ढुंगाले हानेर पुरुषको हत्या, दुईजना पक्राउ

काभ्रे । पुरुषको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । गत साउन १५ गते बिहिबार बिहान ५ः३० बजे काभ्रे जिल्लाको पाँचखाल नगरपालिकावडा– १० बेलास्थित बिपि राजमार्ग सडक खण्डबाट पाँचखाल जाने भित्री कच्ची सडक खण्डमा तत्काल एकिन नामथर वतन नखुलेको पुरुष व्यक्तिको मृत अवस्थामा शव फेला परेको थियो ।

त्यस घटनाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रबि पौडेल समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएर मृतक पुरुषको शव मुचुल्का गरि अनुसन्धान सुरु गरेको २४ घण्टा नबित्दै दुई जना हत्याको घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान गर्न घटनास्थलमा फोरिसिनीक एक्सपर्ट र डक सिनिफीङ्ग सहितको टोली परिचालन भएको थियो । मृतक पुरुष धुलिखेल नगरपालिका– ११ आरुबोट कैदीटोल बस्ने वर्ष ५४ का कामीसिंह तामाङ रहेका छन् ।

मृतक तामाङको शवको अनुहारसमेत नचिनिने अवस्थामा चोटपटक रही, टाउको अनुहार तथा शरिरको विभिन्न भागमा चोटपटक हुनेगरी हत्या गरेको प्रहरीले प्रारम्भीक निष्कर्ष बिहीबार बिहानै निकालेको थियो ।

                                                  झाडीमा मृत अवस्थामा फेला परेका पुरुषः फाइल तस्बिर

जिल्ला प्रहरी कार्यालयबाट घटनामा संलग्न व्यक्तिहरुको खोजतलास र पहिचान गर्दै जाने क्रममा काभ्रे जिल्लाकै धुलिखेल नगरपालिका– ११ बस्ने सञ्जिव मैनाली र सोही ठाउँ बस्ने वर्ष २३ का रुपेन्द्रमान लामा समेतको संलग्नता रहेको र उनीहरुमध्ये सञ्जिव मैनालीले आफ्नो पेटीले मृतक तामाङको घाँटीमा बाधी केही परसम्म घिसारी निजहरु दुवै जनाले ढुङ्गाले अनुहार, टाउको तथा शरिरको विभिन्न भागमा प्रहार गरी हत्या गरेर फाली उनीहरु दुवै जना फरार भएको भन्ने अनुसन्धानको क्रममा खुलेकोमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

फरार रहेका उनीहरुमध्ये रुपेन्द्रमान लामालाई साउन १५ गते दिनको ४ बजेको समयमा धुलिखेल नगरपालिका– ११ स्थित लुकीछिपी बसेको अवस्थामा निजले लगाएको कपडामा रगत जस्तो रातो पदार्थ समेत लागेको अवस्थामा फेला पारी सोही स्थानबाट कानूनबमोजिम पक्राउ गरिएको र अर्का सञ्जिव मैनालीलाई मिति २०७७–०४–१५ गते रातीको ९ बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका– ४ ढुङ्गेसाँगुस्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दरखास्त परी कानूनबमोजिम कसुरअन्तर्गत मुद्दामा जिल्ला अदालत काभ्रेबाट मिति २०७७–०४–१५ गतेबाटै लागू हुनेगरी म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी (डिएसपी) कुमार बिक्रम थापाले बताए । उनका अनुसार घटना गत साउन १४ गते राती ११ बजेको समयमा पाँचखाल नगरपालिका– १० बेलास्थित बिपि राजमार्ग सडक खण्डबाट पाँचखाल जाने भित्री कच्ची सडक खण्डमा घटेको थियो ।

प्रतिक्रिया