खोजखबर

होटल सञ्चालनको तयारीमा पोखराका व्यवसायी

सौर्य अनलाइन २०७७ साउन १५ गते १८:२७ मा प्रकाशित

गण्डकी । साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र खुल्ने सरकारको निर्णयसँगै चार महिनायता बन्द भएका पोखराका होटेल आजदेखि खुलेका छन् । होटल खुले पनि आन्तरिक तथा बाह्य उडान नखुलेका अवस्थामा पर्यटकको आवागमनका लागि भने समय कुर्नुपर्ने देखिएको व्यवसायी बताउँछन् ।

लामो समयदेखि बन्द भएका होटेल सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापनलगायत कामलाई व्यवसायीले अघि बढाएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

अघिपछि पनि वर्षातको समयमा पोखरामा पर्यटकको खासै चहलपहल नहुने गरेको बताउँदै उनले असोज लागेपछि मात्रै आवागमन बढ्ने बताए । यसबीचमा होटेल सञ्चालकले कर्मचारीका लागि होटेल सञ्चालन कार्यविधि, सुरक्षा मापदण्डलगायत विषयमा अभिमुखीकरण गराउने उहाँले उल्लेख गर्नुभयो ।

सरकारले साउन १५ देखि पर्यटन क्षेत्र खुल्ने भने पनि अधिकांश होटेलमा कार्यरत कर्मचारी घरमा गएको र उनीहरू फर्किनसकेकाले पूर्णमा सञ्चालनमा आउन समय लाग्ने होटेल एशिया लेकसाइडका सञ्चालक धर्म पन्थीले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको अवस्थापछि मात्रै पर्यटकीय चहलपहल हुने भएकाले व्यवसायीहरू त्यसको प्रतिक्षामा रहेको उनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय