सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम

सर्लाही । सूचनाको हक सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा भव्यताका साथ बुधबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले भने, ‘लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक शक्ति हुन्छन्, जनताले तिरेको कर, राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरू सबै जनताप्रति जवाफदेही हुनु पर्दछ ।’

तसर्थ सार्वजनिक निकायका निर्णय, कामकारबाही र बजेट आदिको सूचना सञ्चारकर्मी लगायत हरेक जनताले पनि सहज रुपमा पाउनु पर्ने उनले बताए । उनले पुनः भने, ‘सूचना जनताको संवैधानिक अधिकार हो । र यो नै सच्चा लोकतन्त्रको मूल आदर्श पनि हो, सार्वजनिक निकायका पदाधिकारीहरूले जनताको सूचनाको जिम्मा लिने, व्यवस्थित गर्ने र मागेको बेलामा उपलब्ध गराउनु पर्दछ ।’ यो नै लोकतन्त्रको विशिष्ट आधार र संस्कार रहेको प्रजिअ जिसिले प्रष्ट पारे ।

मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले भने, ‘सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ ।’ सहज पहुँचले सर्वसाधारण जनताको तहमा समेत सवलीकरण हुन गई समग्र शासन प्रणालीमा जनताको सहभागिता र अपनत्व निर्माणमा समेत सहयोग पुग्न जाने उनले जनाए । उनले भने, ‘सूचनामा नागरिकको सहज पहुँचको लागि सूचनाको कानूनको स्वतन्त्रताको प्रत्याभूति, जन उत्तरदायी र शासकीय प्रणालीको लागि आवश्यकीय सर्तको रूपमा स्विकार्ने गरिन्छ । यसैको आधारमा सरकार, जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरू सबै कति पारदर्शी र जन उत्तरदायी छ, भन्ने मापन समेत गर्न सकिने अध्यक्ष ठाकुरले बताए ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यलय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसि रहेका थिए । भने विशिष्ट अतिथिका रुपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सर्लाहीका उप अनुसन्धान निर्देशक दिलिप सिंह रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सह–सचीव सत्य प्रकाश (एसपी यादव) ले राखेका थिए । भने कार्यक्रमको उदघोषण नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सदस्य सुनिल ठाकुरले गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत द्वेय राम प्रमोद यादव र राम नरेश राम, लेखापाल रामस्वार्थ महतो लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया