सरिता गिरी पार्टीबाट निष्कासित

काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । नेपालको नक्सा विरोधी अभिव्यक्ति र पार्टीको ह्विप नमानेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहेपछि गिरी सांसद पदबाटसमेत मुक्त भएकी छन् ।

सरकारले देशको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेदेखि नै असन्तुष्ट जनाउँदै आएकी गिरीले सोही नक्सालाई संविधानको अनुसूचीमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव समेत दर्ता गरेकी थिइन् । पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएपनि गिरीले पार्टी निर्देशनलाई अटेर गर्दै नमानेपछि कारवाही गरेको हो । संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्नका लागि पार्टीले जारी गरेको ह्वीपसमेत नमानेपछि छानबीन गर्न कार्यदल गठन गरिएको थियो ।

सोही सम्बन्धमा पार्टीका महासचिव एवं जाँचबुझ समितिका संयोजक रामसहाय प्रसाद यादवको हस्ताक्षरसहित सांसद गिरीलाई स्पष्टीकरणका लागि पत्र पठाइएको थियो । सो पत्रको उनले चित्तबुझ्दो जवाफ नदिएपछि निष्कासित गर्ने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको हो । गिरीले पार्टीको निर्णय विरुद्ध आफु सर्वोच्च अदालत जाने बताएकी छन् ।

प्रतिक्रिया