कोरोना संक्रमितमा भारत विश्वको तेस्रो स्थानमा

तिब्र गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै संक्रमित भएको मुलुक बनेको छ। भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ संक्रमितको संख्या लगातार बढेको थियो । हाल सबभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल संक्रमितको संख्या करिब ६ लाख ९० हजार पुगेको छ। आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ संंक्रमित थपिएका थिए। भारतभरिमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ हजार पुगेको छ। विज्ञहरूले भारतमा संक्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन्।

अधिकारीहरूले संक्रमण रोक्न विभिन्न प्रयत्न गरिरहेका छन्। दिल्लीमा ठूलो भाइरस स्याहार केन्द्र खोलिएको छ। देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त स्याहार केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो। भाइरस संक्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ।

भारतमा सबैभन्दा धेरै संक्रमतिहरूको संख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ। त्यहाँ कुल संक्रमितको संख्या दुई लाख नाघेको छ। दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा संक्रमितको संख्या एक लाख हाराहारीमा छन्।

धेरै जनसंख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ। बीबीसी

प्रतिक्रिया