व्यवसायी महासंघले भन्यो, ‘सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन’

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासंघले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ ।

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासंघका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ ।

महासंघले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ । सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ ।

महासंघ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

सिटौलाले खण्डन गरेको जस्ताको तस्तै

‘विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण दर नेपालमा बढेसँगै मुलुक लकडाउनमा छ । मुलुक लकडाउनमा परेसँगै चैत १० देखि देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा परेका छन् ।

नेपाल सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना बनाएको छैन ।

सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनै पनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको छ । नेपालका केही सञ्चारमाध्यम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आए पनि महासंघले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु ।

महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको छ । नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने व्यहोरा समेत जानकारी गराउँछु । सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्छ । व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य रहन आग्रह गर्दछु ।’

प्रतिक्रिया