२० जनालाई कब्जामा लिएर लुटियो ९० लाख बराबरको बोधिचित्त

काभ्रे । शुक्रबार बेलुकी ११ बजे अज्ञात समूहले तीन घरका सदस्यहरुसमेत २० जनालाई नियन्त्रणमा लिएर ९० लाख बराबरको बोधिचित्त लुटिएको छ । काभ्रेको साविक सिसाखानी– ३ नाग्वेली हाल रोसी गाउँपालिका– ५ मा रातको ११ बजे बिरबहादुर तामाङका ६ जना परिवारको संयुक्त नाममा रहेको बोधिचित्त लुटिएको हो ।

तेमाल गाउँपालिकाका प्रभात दोङ, सिजन लामा र समिप त्रिपाठीले यस वर्षको लागि उक्त बोटका धनी बिरबहादुरसँग ९० लाखमा गएराती लुटिएको सोही बोटको बोधिचित्त किनेका थिए । छिप्पिएर टिप्ने समय सुरु नहुँदैकको बोधिचित्त नष्ट गर्ने उदेश्यका साथ ती अज्ञात समूहले लुटेर लगेका छन् ।

यसरी लुटेका थिए बोधिचित्त

सुरुमा उक्त गाउँमा जाने बाटोहरुमा संक्रमणकालीन समय झैँ लाग्ने गरि खतरा लेख्दै बाटोहरुमा बम र केही शंकास्पद बस्तुहरु राखिएको थियो । करिब ३५ जनाको समूहमा आएका लकाप लगाएका हतियारधारी समूहले सो गाउँ प्रवेश गरे । केहीले बन्दुक र बम पड्काएर गाउँलेहरुलाई त्रासित बनाएका थिए ।

उक्त बोधिचित्तको बोट नजिकै रहेको तीन घरमा तोडफोड गर्दै घरका सबै सदस्यहरुलाई नियन्त्रणमा लिँदै बोधिचित्तको सुरक्षार्थ खटाइएका १६ जना यूवाहरुलाई पनि कुटपिट गरि सो घरमा लगेर नियन्त्रणमा लिई सबै मोबाईलहरु खोसियो । बिजुली बत्तीका लाईनहरु काटियो । सिसि क्यामेराको मनिटर पनि झिकेर लगियो । करिब १ घण्टासम्म थुनेर राखियो भने केहीलाई डोरीले बाँधीयो ।

बाटोमा खतरा लेख्दै एसएमजी जस्तो देखिने दुई थान, पेस्तोल जस्तो देखिने २ थान, कटुवा पेस्तोल १० थान, सकेट बम ३ थान, खुकुरी ७ थान लिएर कटुवा पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी सकेट बम १ थान पड्काई बोधिचित्त कुर्न रुख मुनी बसेका ब्यक्तिहरुलाई कुटपिट गरेर बोटमा चढेर धमाधम बोधिचित्त टिपेर फरार भएका थिए ।

लुटेराको आक्रमणमा परेर बोधिचित्त कुर्न बसेका तेमाल गाउँपालिका– ६ माउरेका ३८ वर्षीय श्याम तामाङको टाउको र हातमा चोट लागेको छ । रोसी गाउँपालिका– ६ का ३० बर्षीय जितबहादुर तामाङ, वडा नं. ६ का २४ वर्षीय शेखर लामा, ४० बर्षीय जितबहादुर तामाङ गरी चार जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले लुटेको जानकारी लगत्तै ११ बजे नै त्यसतर्फ आफूहरु पुगेको बताएका छन् । उक्त घटना छानविन गर्न जिल्ला प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापा पुगेको र उनकै नेतृत्वमा अनुसन्धान टोली पनि गठन गरिएको जिल्ला प्रहरी प्रमख रविले बताएका छन् ।

यता अनुसन्धानमा संलग्न डिएसपी थापा भन्छन्, घटना संक्रमणकालिन शैलीमा घटाइएको छ, केही शंकास्पद नाममा विप्लव समूहका केही सदस्यको नाम पनि आएको छ, हामी यस विषयमा लागिरहेका छौँ ।’ प्रहरीले सूचना पाएको केही समयमा नै पुगेर खोजतलास गर्दा घटना स्थलबाट केही गोलीका खोका पनि फेला पारेको छ ।

प्रहरी उपरिक्षक रबी पौडेलका अनुसार पहिले रोसी गाउँपालिका– ५ स्थित महाभारत गाउँपालीका जाने सडकमा सावधान लेखिएको शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ डिस्पोज गर्नको लागि नेपाली सेना बिष्णुदल गणलाई जानकारी गराएर घटनास्थलमा गई डिस्पोज गर्दा होस्ट बम रहेको थियो । त्यही क्रममा बोधिचित्त लुटपाटमा झडप भयो भन्ने सुनेर प्रहरी जाँदा लुटेरा समूह भागेको घटनास्थल पुगेका प्रहरी नायब उपरिक्षक कुमारविक्रम थापाले बताए । घाईतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

किन लटिन्छन् ठेकेदार ?

सोही बोटको बोधिचित्त कारोबारमा केही वर्ष पहिले परिवारका सदस्यहरुबीच आपसमा विवाद हुँदा पनि दुई जना ठेकेदारले एउटै वर्ष उक्त बोटको बोधिचित्त किनेपछि विवाद भइ झडप भएको थियो । त्यस्तै, एक वर्ष विप्लव समूहका सागर मैनालीसहितको टोलीले मध्यरातमा सो बोटको बोधिचित्त लुटेका थिए ।

बिहीबार राती लुटिएको बोधिचित्त कारोबार र लुटिएकोबारे रोसी गाउँपालिकाका अध्यक्ष डिवि लामाले भने आफूहरुले कारोबार सहज बनाउन कार्याविधि बनाएर स्थानीय सरकारले करको दायरामा ल्याइ सुरक्षा संयन्त्र समेतको प्रवद्र्धन गर्न जिल्ला प्रहरी प्रशासनलाई पत्राचार गरेको बताए । उनले यस वर्ष कारोबार भएको बोधिचित्तको कर ठेकेदार पक्षले तिरिसकेको बताए ।

उनले ९० लाख कारोबार भएको उक्त बोधिचित्तको कर ४ लाख ५० हजार बराबर उनीहरुले वडामार्फत गाउँपालिकामा तिरेको बताए । उनले बैधताको लागि पनि यसो गरिएको र स्थानीय सरकारको आम्दानीमा पनि केही प्लस हुने भएकाले करको दायरामा प्रशासनसहित बसेर कार्यविधि बनाइ अघि बढाएको बताए ।

उनले लुटेको बोधिचित्तबारे भने ९५ प्रतिशत लुटिएको बुझिएको र बोटमा बाँकी ५ प्रतिशत मात्रै रहेको बताए । लामाले बोधिचित्त सुरक्षाको लागि जिल्ला प्रहरी प्रशासनमा पटक–पटक पत्राचारमार्फत जानकारी गराइरहेको र प्रहरी कार्यालयबाट केही सुरक्षा भए पनि पूर्णरुपमा ढुक्क हुन सक्ने अवस्था नबनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया