रुकुम घटनाः धरौटी बुझाउन नसकेपछि किशोरीकी आमा पनि जेल चलान

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा गत जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको धरौटी रकम तिर्न नसकेपछि किशोरी शुष्मा मल्लकी आमालाई पनि जेल चलान गरिएको छ । ती महिलालाई रुकुम जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेर छोड्न आदेश दिएको थियो ।

शुक्रबारदेखि सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार उक्त आदेश दिएका थिए । तर, उनले धरौटी रकम बुझाउन नसकेपछि अन्य २३ प्रतिवादीसँगै पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकी विषय अब कानून अनुसार हुने र महिलाको नाम कानून अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ ।

सोही घटनाका प्रतिवादी तथा सोती गाउँका वडाध्यक्ष भनिएका डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भइसकेको थियो । अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र चलान गर्न आदेश भएकालाई राति नै जिल्ला कारागार चलान गरिएको छ । उक्त आदेशमा अन्य ३ जना अभियुक्तलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन् । यसअघिको आदेशमा दुई जना नाबालक घटनामा ज्यान गुमाएका नवराजकी प्रेमिका भनिएकी किशोरी सुष्मा मल्ल र अन्य एक जना आफन्तलाई पुर्पक्षको लागि बाल सुधारगृहमा पठाउने आदेश भइसकेको छ ।

प्रतिक्रिया