करैंयामाईमा ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैयाँको बजेट

बारा । करैंयामाई गाउँपालिका बाराको छैठौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक बर्ष २०७७–०७८ को लागि ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जस मध्ये चालु खर्च तर्फ ६ करोड ९८ लाख ३ हजार ५ सय ५० रुपैयाँ र पुँजीगत खर्चतर्फ ३७ करोड ५७ लाख ४० हजार रुपैया समावेश गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चित्रलेखा यादवले आर्थिक बर्ष २०७७–७८ को नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । गाउँसभाले कोरोना नियन्त्रणसहित भौतिक पूर्वधार विकासमा विशेष जोड दिएको छ । सभाले यस बर्षको निति तथा कार्यक्रममा कृषि तथा सिचाई विकासमा पनि बिशेष जोड दिएको छ ।

गाउँपालिकाले भौतिक पूर्वधार विकास अन्तर्गत सडक ग्रावेल गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ । गाउँसभाले आर्थिक बर्ष २०७६–०७७ मा सम्पन्न भएको कार्यक्रम तथा खर्चहरु पनि अनुमोदन गरेको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाको वडा नं। ७ मा निर्माण भइरहेको २५ श्ययाको अस्पताल निर्माण कार्यलाई यथासिध्र सम्पन्न गर्न पहल गर्ने कुरालाई पनि समावेश गरेको छ ।

गाउँवासीको स्वास्थ्य सेवालाई अझै सहज तथा सुलभ बनाउँनको लागि गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडावासीमा पुग्न गरी घुम्ती स्वास्थ्य सिविर,मधुमेह,उच्च रक्तचाप,थाइराड,क्यान्सर, मृगौला, मुटु रोग, आङ खस्ने रोग निशुल्क स्वास्थ्य परिक्षण सिविर तथा एम्बुलेन्स सेवा संचालन गर्ने लगायतको कुरालाई सामबेश गरेको छ । उक्त कार्यक्रमा सबै वडाका वडा अध्यक्षहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया