झुपडीबस्ती धारावीको कोरोना संघर्ष

संसारको सबैभन्दा साँघुरो झुपडीबस्ती भारतको धारावीमा सामाजिक दूरी कायम गर्ने सुविधा मानिसहरूको वशमा छैन । त्यसैले भिडभाड कोरोना भाइरसका लागि अनुकूल मानिन्छ ।

झन्डै साढे दुई वर्गकिलोमिटरको भद्रगोलपूर्ण क्षेत्रफलमा पाँच लाख मानिसहरू बसिरहेका छन् । त्यो जनसंख्या म्यानचेस्टरकोभन्दा बढी हो । तर उनीहरू लन्डनको एउटा निजी बगैँचा केन्जिङ्टन गार्डेनभन्दा सानो क्षेत्रफलमा बस्छन् ।

आठदेखि १० जना मानिसहरू एकसाथ जेलजस्तो घरमा बस्छन् । त्यहाँका ८० प्रतिशत मानिसहरू सार्वजनिक शौचालय प्रयोग गर्छन् । झुपडीबस्तीको साँघुरो गल्तीतर्फ फर्किएका भवनमा उद्योगहरू छन् । तर त्यही घरमा मानिसहरूको आवास पनि छ । त्यहाँका धेरै मानिसहरू अनौपचारिक ज्याला मजदुरीमा निर्भर छन् । तर पनि मुम्बईको विशाल झुपडीबस्ती धारावीले अहिलेसम्म कोरोनाभाइरस महामारी नियन्त्रणमै राखेजस्तो देखिन्छ ।

धारावीमा कोरोना भाइरस

अप्रिल १ मा त्यहाँ पहिलो संक्रमण थाहा भएपछि अहिलेसम्म २,००० भन्दा बढीमा कोभिड–१९ देखिएको छ र ८० जनाले ज्यान गुमाएका छन् । तर आधाभन्दा बढी संक्रमणबाट निको समेत भएका छन् । त्यहाँ उच्च संख्यामा परीक्षण र काममा नजानेहरूलाई पनि निःशुल्क खाना बाँडेर नियन्त्रणका लागि कठोर उपायहरू पनि जारी छन् ।

महानगरका अधिकारीहरूका अनुसार उनीहरूले तीव्र रूपमा संक्रमितहरू पत्ता लगाउँदै परीक्षण गर्ने र त्यो फैलिन नदिन एक्ल्याएर राख्ने काम गरेका छन् । उनीहरूले घुम्ती गाडीको प्रयोग र ज्वरो मापन शिविरदेखि घरदैलो कार्यक्रम समेत गरेका थिए ।

घरदैलोका बेला गर्मीको रापले स्वार्थ्यकर्मीलाई सुरक्षित हुन लगाइएका लुगा पसिनाले भिजाएर समस्या निम्त्यायो र स्वास्थ्य शिविरमा मानिसहरूलाई बोलाउन थालियो ।

जहाँ अहिलेसम्म ३,६०,००० भन्दा बढीको लक्षणहरू जाँच्ने काम गरिसकिएको बताइएको छ । त्यहाँ इन्फ्रारेड थर्मोमिटर र पल्स अक्सिमिटरको प्रयोगले शरीरको तापमान र रगतमा अक्सीजनको तह मापन गरिन्छ । रूघाखोकीजन्य लक्षण देखाउनेलाई त्यहीँ भाइरसको परीक्षण गरिन्छ ।
संक्रमण देखिएकालाई त्यहाँ क्वारन्टीनका रूपमा प्रयोग गरिएका विद्यालय, विवाह हल र खेलकुद केन्द्रमा लगिन्छ । अहिलेसम्म १०,००० भन्दा बढी मानिसहरू त्यस्ता क्वारन्टीनमा बसेका छन् ।

त्यहाँ काम गरिरहेका डा. अमृता बवास्करले भनिन, ‘मानिसहरू स्वेच्छिक रूपमा शिविरहरूमा आइरहेका छन् । कसैले त आफूलाई परीक्षणको योग्य बनाउन उमेर समेत बढाउने गरेका छन् ।’ ‘कोही खोकेको मान्छेको छेवैमा गएको भन्दै जँचाउन आउँछन् । त्यहाँ धेरै त्रास र सचेतना छ ।’

अप्रिलयता ११,००० मानिसको जाँच गरिएको भए पनि त्यहाँ अझै लक्षण नदेखाउने संक्रमित हुने सम्भावना उच्च छ । तर उच्च गतिमा अन्यत्र फैलिएका ठाउँको तुलनामा धारावीका मानिसहरूले संक्रमणसँग राम्रोसँग जुझ्न सकेका हुन् ।

तुलनात्मक रूपमा मृत्युदर कम हुनु त्यहाँ युवा जनसंख्याको बाहुल्यता समेत हो । अधिकांश संक्रमित २१ देखि ५० वर्ष बीचका छन् । त्यहाँको सामाजिक बन्धन कायम रहोस् भनेर काम र कमाइबिना घरमा बस्ने मानिसहरूलाई निःशुल्क खाना र खाद्यान्न उपलब्ध गराइएको छ ।

त्यस क्षेत्रको नेतृत्व गरिरहेका महानगरका सहायक कमिसनर किरण दिग्हफ्गर भन्छन, ‘हामीले सामाजिक दूरी कायम नगरिकनै संक्रमणको साङ्लो तोड्न सफल भएका छौँ । यसको विकल्प समेत हामीसँग थिएन ।’

धारावीले सञ्चारमाध्यमको धेरै चासो पाउनुले समेत यस कामलाई सहयोग पु¥याएको छ । ओस्कर विजेता चलचित्र स्लमडग मिनेनियरका कारण पनि यस झुपडीबस्तीले धेरैको ध्यान खिच्न सकेको हो । विश्वभरका थुप्रै व्यापारिक शैक्षिक संस्थाका अध्ययनकर्ता एवं सहरी योजनाकारहरूले यहाँको एक अर्ब डलरको अनौपचारिक अर्थतन्त्र र सहरी परिदृश्यको अध्ययन गरेका छन् ।

त्यहाँका स्वास्थ्य शिविरमा निजी चिकित्सकहरू जानेदेखि महानगरका नेता र गैरनाफामुलक एवं परोपकारी संस्थाहरूले खाद्यान्न सहयोग गरेका छन् । भारतीय कलाकारदेखि व्यापारीहरूले स्वास्थ्य सामग्री, अक्सीजन सिलिन्डर, भेन्टीलेटर, पञ्जा, मास्क र औषधिहरू उपलब्ध गराएका छन् ।

एक सहयताकर्मी डा. अर्मिदा फर्नान्डिज भन्छिन, ‘समुदायका रूपमा काम गर्ने मुम्बईको इतिहास रहिआएको छ । धारावीमा संक्रमणसँग जुझ्ने अधिकारीहरूको प्रयासलाई सघाएर मानिसहरूले नमुना काम गरेका छन् ।’

बन्द त्यस बस्तीको आर्थिक मूल्य भने निकै ठूलो छ । उक्त झुपडीबस्ती छाला, माटाका भाँडाकुँडा र लुगा सिउनेजस्ता उद्योगको केन्द्र हो । त्यहाँ ५,००० त कर तिर्ने साना उद्योगहरू छन् । एउटै कोठाबाट चल्ने विक्री केन्द्रहरू मात्र त्यहाँ १५,००० भन्दा बढी छन् । उक्त ठाउँ मुम्बईको प्लास्टिक प्रशोधन हुने मुख्य क्षेत्र समेत हो । त्यहाँ दशकौँदेखि सस्तोमा काम गर्ने सीपयुक्त कामदारहरू बस्ने गर्छन् ।

आम्दानी ठप्प भएपछि डेढ लाखभन्दा बढी त फर्किसकेका छन् । धारावीलाई त्यस्तो कठोर बन्धनमा राखिँदा त्यहाँको अर्थतन्त्र ध्वस्त भएको जानकारहरूले बताएका छन् । तर मुख्य प्रश्न त अझै जीवितै छः हात धुनका लागि पर्याप्त पानी र उद्योगमा फर्कनका लागि रोजगारी के धारावीसँग होला ? ‘यो युद्ध अझै सकिएको छैन । कोरोना भाइरसबाट बच्ने उपाय ननिस्केसम्म यसले छाड्ने छैन्,’ दिग्हफ्गरले भने । (बीबीसी)

प्रतिक्रिया