एमसीसीविद्ध ११ पार्टीले गरे संघर्ष कार्यक्रमको घोषणा

काठमाडौं । विभिन्न राजनीतिक ११ पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा संघर्ष कार्यक्रमको घोषणा गरेका छन् । आज ११ पार्टीले एक संयुक्त वक्तव्यमा उक्त सम्झौता राष्ट्रघाती रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताको आधारमा ओली यसलाई पारित गराउने दाउमा लागेको भन्दै यसविरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनका लागि अन्य सबै विषयलाई थाति राखी यो संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एम्सीसीको खारेजी’ मागलाई सूत्रीय बनाउने ११ दलले निर्णय गरेको छ ।

आगामी १० गते हुन लागेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा एम्सीसीबारे नै छलफल हुने भएकाले विकसित परिस्थितिमाथि ध्यान दिँदै आगामी असार ११ गते संयुक्त बैठक बसेर संघर्षको आगामी योजना तय गरिने पनि ११ पार्टीले निर्णय गरेको छ ।

प्रतिक्रिया