भुक्तमानको ऐना !

                            प्रथा

हिउँको आरनमा
हिउँकै आगो सल्काएर
आफ्नै विश्वासको लिहीमाथि
उसले पिटिरह्यो— आगोजस्तै जब्बर धातु !
र जमिनको पुरानो याक्साभित्र
आफू सेलाउँदै गयो
बरफको कुनै अन्तरधुज ढिक्काजस्तै !

००००

भन न ए भुसुनी खोला !
किन सेलाउन सकेनन्
यो कलिलो मनभित्रका तापहरू ?
यही प्रश्नको जङ्गलमा
एउटा सिङ्गो इतिहास हराएको छ !
उसबेलादेखि नै,
पीडाको काँचो लाभा ओकल्दै
धर्तीमा फुटिरहेछ– अदृश्य ज्वालामुखी !

००००

उसको ज्ञानको तलाउमा
सयौँ खुकुरीहरूको गर्भाधान भयो !
हजारौँ तरबारहरूको जन्म भयो
र असंख्य खुँडाहरूको न्वारान पनि गरियो !
के–के हुनु थियो, सबै भयो
जे–जति बनिनु थियो, सबै–सबै बने
यो अङ्कगणितसँग
न त भुक्तमानको दिनु थियो
न त उसको केही लिनु नै थियो !

००००

उसको पाठशालामा
ऊ आफ्नो गुरु आफैँ थियो !
उसले पढ्ने पुस्तकमा
आगोका अक्षरहरू छमछमी नाचिरहन्थे !
उसका यात्राहरूमा
ऊ आफू हिँड्ने बाटो आफैँ थियो
थाहै पाएन
कतिखेर आफू खलाँती बन्यो
र आरनमा बसेर फुकिरहेछ–आफूजस्तै आगो !

००००

एक दिन,
खुकुरीले संवेदना गुमायो
मूर्ख खुँडा पनि उद्दण्ड बन्यो
र सन्की तरबारले विवेकको सलेदो निभायो !
एउटा निस्लोट कालिमाले
आशाको बाटुलो घाम बढारिदिएपछि
उसले पहिलोचोटि
जीवनको ऐनामा आफूलाई हेर्यो
र छर्लङ्ङ देख्यो– सत्ताको अनुहार !

००००

विष्टहरूसँगै,
खुकुरी पनि चमचमाउँदै थियो
बराजुहरूजस्तै
खुँडा फणा फुलाएर डुक्रँदै थियो
मालिकहरूको घोडा बनेर
तरबार पनि बेजोडले हिनहिनाउँदै थियो !
र हातमा चुप्पी बोकेर
ऊजस्तै एउटा दुःखी देश पनि
जुलुसको पछिपछि जोसिँदै हिँडिरहेको थियो !

००००

खुकुरीका ओठहरू
भुक्तमानको गर्दनमा चुम्बन गर्न थाले
तरबारको धार
पोस्टमानको शिरमाथि नाच्न थाल्यो
खुँडाका बङ्गाराहरू
पोकलीको नाभीमा उत्तेजना घोप्ट्याइदिन लागे !
र राष्ट्रिय धुनमा परेड खेल्दै
कालो घोडाले,
मुलुकी ऐनजस्तो नक्सा कुल्चिरह्यो !

००००

हेर्दा–हेर्दै,
आकाशका ताराहरू
एकपछि अर्को गर्दै झरेर गए !
जीवनको निख्लो डालीबाट
सपनाका सल्लीपिरहरू
जमिनमा उदासिँदै खस्न थाले !
र खडेरीले निलेजस्तै गरी
सर्लक्कै निलिदियो
जिन्दगीको हाङ्ग्रेखोला– एउटा आतङ्कले !

००००

बाउ–बाजेलाई सम्झेर
भक्कानो फुटेपछि
हातमा नाङ्गो खुकुरी नचाउँदै
आज लालजित वि.क.
अदालतको ढोकाबाहिर उभिएको छ !
अहँ,
कसैलाई थाहा छैन
ऊ साँच्चै बौलाएको छ
या बौलाएको अभिनय गर्दै छ ?

००००

ऊ लक्कड जवान छ
यौवनका कलकलाउँदा रहरहरू
जिब्री फूलजस्तै नफक्रिएका पनि होइनन् !
तर आज ऊ
मृत्युको मुखमा उभिएर
आफैँ पत्ता लगाउन चाहन्छ
कि उसले अर्जापेको खुकुरीमा पाइन कति छ ?

प्रतिक्रिया