गोरु बस्छन् उग्राएर हलो जोत्छन बोका !

               बलराम तिमल्सिना

गणतन्त्र ल्यायौं भन्थ्यौं तिम्रै पेवा भयो !
संघीयता टाक्सिएर खोला–खर्क गयो !
नाङ्गै पारी इज्जत लुट्यौ समावेशिताको !
सामाजिक न्याय रैछ तिम्रै लागि आको !

कमरेड र कम्युनिष्टको गर्यौ बदनाम !
झण्डा बोक्यौ श्रमिकको गर्यौ बेग्लै काम !
चुनावमा भाषण त गरेका थ्यौ चर्को !
एमसिसीले उडाइलग्यो राष्ट्रवादको बर्को !

खै कस्को हो मरेकाट्टे मुख हेर्दिन भन्थ्यौ !
हो पो क्यार लाग्ने गरी विश्वासिलो बन्थ्यौ !
कता हेर्छौ ? मुखै मुख छ पिँध हेर्ने त होला ?
कसै गर्दा लाज नलाग्ने धन्य तिम्रो चोला !

पानीजहाज नेपालमै आयो हररर !
पाइपबाटै ग्याँस आयो आगो भररर !
घर घरै पुग्न थाले चामलका पोका !
गोरु बस्छन् उग्राएर हलो जोत्छन् बोका !

महङ्गीले आकाश छोयो ताली पिट ताली !
भ्रष्टाचार उर्ली आयो थाली पिट थाली !
कमिसन हाँस्न थाल्यो गर वाहवाही !
भोकनाङ्गै नाच्न थाल्यो गर हाईहाई !

अग्लालाई खुट्टा ढोग होचालाई घोचो !
बाहिर गर गालीभित्र मिलाऊ चोचोमोचो !
फेरि फेरि के हो के हो ऐलै सक्दो खाऊ !
अरु कुरा छोडी खोज कमाउने दाऊ !

इमानलाई मार हान आदर्शलाई सेर !
अस्मितालाई नाङ्गै पार मजा मानी हेर !
गरीवलाई आँखा तर जुनीभरि खेर !
पराईले आँखा तर्दा सुरुवालमै छेर !

बेला बेला उखान टुक्का कथा हाल्दै गर !
यस्तो ठान–सबै तिम्रै परेका छन् भर !
सिंहदरबार बालुवाटार तिम्रा बाऊको घर !
न त तिम्लाई लाज–शरम न त तिम्लाई डर !

प्रतिक्रिया