माटो खेल्नेको कुरा

                        तेजविलास अधिकारी

१.
माटो उर्वर बनाउन
तल्लीन छन् गड्यौलाहरु
खोतलेर बाँझो जमिन ।
तल–तलसम्म पानी,
पुर्याएर अक्सिजन,
खनेजस्तै छ माटो ।
दङ्ग छ किसान
लुकिरहेको छ,
खनिरहेको छ,
चर्को घाममा
खन्न, गोड्न थालेपछि
म किसान मख्ख ।

२.
फौजी किरा प्रत्येक गुभोमा
मूल वृद्धि भाग नै चपाएर
मोटाएर रातभरि,
घाम लागुञ्जेल लुक्ने
अँध्यारोमा जाग्ने,
निरन्तर नष्टको प्रक्रियामा सक्रिय ।
वाक्क दिक्क छ किसान,
रोइरहेछ किसान,
बिरुवा गोडदेखि
चमरा–सुत्लासम्मै
पारिरहेछ नष्ट ।
छर्दा विष
किसान छ दोहोरो विरामी
छ फौजी किरा उस्तै ।
कृषि मलको हाहाकार छ
पर्ने हो वा होइन
प्रयोग गर्न
सचेत बन्न बाँकी नै छ ।
मल प्रतिकिलो
चामलको भाउभन्दा महँगो
मल किन्नुभन्दा बरु
चामल बेसाएर किन नखानु
निधो छैन फसल भित्रने नै ।


भाइरसको भाइरल
जताततै
खै !
बाँचिएला कसरी
सानादेखि ठुलासम्म
त्रासदिपूर्ण वातावरण
मान्छे छ मान्छेको दुश्मन
अलमल छ सामाजिक जीवन


मुलुकी ऐन पूर्वको
खेल भइरहेछ
मान्छे मान्छेबीच
गहिरो विभेद
हताहती छ ठुलो संख्यामा मान्छे ।
रुञ्चे छ कानुन
देखिदैन समाधान किन ?


गाडी करोडको चढ्नु पर्ने
सयको राहत बाँड्न
जीवितै छ नेता हुल
सक्रिय छ अभियन्ता
अवरुद्ध छ उत्पादन
आयाती अर्थतन्त्र
अलमल अलमल
म माटोमा खेल्ने
कृषिप्रधान मुलुकको किसान !

प्रतिक्रिया