दैलेख । जिल्लाको जिल्ला सदरमुकामस्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका छन् । शुक्रबार २२ जनाले कोरोना जितेसँगै कोरोना जित्नेको संख्या २६ पुगेको छ । शुक्रबार कोरोना जितेकाहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार नै डिस्चार्ज गरिएको छ ।
कोरोना संक्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । कोरोना जित्नेमा जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक पनि रहेका छन् । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् । आइसोलेसनमा उपचाररत उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् । रेग्मीका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।
त्यसैगरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताए । डिस्चार्ज भएकालाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरे । घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन् ।
दैलेख
प्रतिक्रिया