वर्ष दुई बितिगयो तिमीले संसार छोडेपछि
सकुँला र बाँच्न अझै ? गिद्धे नजर गडेपछि
जहाँ जान्छु त्यही लान्छु भन्थ्यौ जिन्दगीमा
स्वर्ग जाने निम्तो आउँदा पाएँ खबर पुगेपछि ।
आँशु लुकाई नयनमा तिम्रो पीडा साट्दै थिएँ
जाली रहेछौ सम्झेनौ नी अर्कै सहर टेकेपछि
नबिर्सने हुन्छ प्रेम छोडिजाने निष्ठुरीको
भक्कानिन्छ मुटु सधै छोरीले अधर खोजेपछि
जसोतसो बाँच्छु होला सम्झना छ मिठो माया
नदेख्ने गरी छातीभित्र तिम्रो तस्बिर राखेपछि ।
छोरी भन्छिन् हस्पितलबाट कहिले आउने मेरो बाबा
कसले किन्छ ड्रेस, किताब नयाँ भर्ना खुलेपछि
बाबा तिम्रा भगवान भए आउँदैनन् फर्किएर
छतमा लगी देखाइदिन्छिन् जून सगरमा चम्केपछि
जानिनन् तिनले रुन सकिनन् बुझ्न पीडा
उफ्रिएर खेल्न थालिन् भगवान देख्ने रहर जागेपछि ।
(साहित्यकार तथा सञ्चारकर्मी यादव थपलियाको स्मृतिमा लेखिएको गजल)
प्रतिक्रिया