अर्थबजार

कुखुराको खोरमा गाँजाको भण्डार

रासस २०७७ जेठ २२ गते ९:११ मा प्रकाशित

महोत्तरी । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो ।

कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जानकारी दिएको हो ।

पहिलेदेखि नै सो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा लागेको प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १८० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । गत मंगलबार राति प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण गरिएको पत्ता लगाएको हो ।

कारोवार सञ्चालन गर्दै आएका ५२ वर्षीय चौधरी भने फरार छन् । जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणमा गाँजा फेला परेको यो पहिलो अवसर हो । भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिका लागुऔषध गाँजाको सघन ओसारपसार हुने केन्द्रका रूपमा चिनिने गरिन्छ । यस गाउँपालिकाको अजमरपट्टी बस्ती एकदशक पहिलेसम्म संसारभरिकै गाँजा तस्करको उठबस हुने ठाउँका रूपमा चिनिन्थ्यो ।

तर गाँजाखेती र कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढ्दै गएपछि कारोवारीले नजिकका अन्य बस्तीलाई धन्दा चलाउन आश्रयस्थल बनाउँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रमा पनि गाँजाखेती गरिएको भेट्टिए पनि धेरैजसो एकडारा गाउँपालिका क्षेत्रभित्रका बस्तीमा वर्सेनि प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय