चार भाषाका २० पुस्तक

काठमाडौं । वैश्विक कोरोना महामारीका बीच चार भाषाका २० वटा किताव सार्वजनिक गरिएको छ । कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सार्वजनिक तथा औपचारिक कार्यक्रम बन्दजस्तै छन् । यसैबीच अनलाइनमार्फत आयोजकले ती पुस्तक विमोचन गरेको हो । सिर्जनालयसँगको सहकार्यमा द एसिया फाउण्डेसनको लेट्स रिड परियोजनाले उक्त बालकथा प्रकाशन गरेको हो ।

विमोचित पुस्तकमा कृष्णराज सर्वहारीको भुख्ली र खुत्रुके, छविलाल कोपिलाको कैलारी र स्यालको बिहे तथा शान्ति चौधरीको लहेडा र बछिया अनि मेरी दुधु रहेका छन् । रंगीन सचित्र यी ६ वटै पुस्तक डंगौरा थारू, नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरिएको छ । यस्तै, शान्ति चौधरीका दुवै पुस्तक बाराको थारू भाषामा समेत प्रकाशित गरिएको छ ।

पुस्तकको विमोचन द एसिया फाउण्डेसनका कन्ट्री डाइरेक्टर मेघन नाल्बो, बुक्स फर एसियाकी रीतिका लाकौल, सिर्जनालयका अध्यक्ष सरारे वज्राचार्य, पुस्तकका सम्पादक मुना गुरुङ तथा पुस्तकका लेखक र चित्रकारले संयुक्त रूपमा गरे । द एसिया फाउन्डेसनका कन्ट्री डाइरेक्टर मेघनले बुक्स फर एसिया परियोजनाअन्तर्गत एसियाका २९ भाषाका करिब तीन हजार पुस्तक तयार गरिएको बताइन् ।

उनले ती पुस्तक लेट्स रिड डिजिटल लाइबे्ररीमा अपलोड गरिएको जानकारी समेत दिइन् । उनका अनुसार नेपाली, नेपाल तथा थारू भाषामा तीन सय ५० बालपुस्तक तयार गरिएको छ । प्रकाशित ती पुस्तकमा बन्दना तुलाचन, उमेश चौधरी, मित्थु थारु, उहाबाङ, श्रद्धा श्रेष्ठ, सुमन महर्जनले चित्र बनाएका छन् ।

आयोजकले यसलाई सार्वजनिक पुस्तकका बारेमा केन्द्रित रही एकहप्ते छलफल कार्यक्रम जारी राखेका छन् । शनिबारदेखि शुक्रबारसम्म आयोजना गरिने कार्यक्रमको नाम कैलारीदेखि बारासम्म राखिएको आयोजकले जनाएको छ । यस कार्यक्रममा लोकार्पित पुस्तकका लेखक तथा चित्रकारसँग सीता मादेम्बा, प्रनव आकाश, कुमुदिनी, अनुराधा, प्रोमिना लगायतले छलफल चलाइरहेका छन् ।

प्रतिक्रिया