महामारीमा ट्राभल एजेन्सीको ब्रह्मलुट

काठमाडौं । कोरोना महामारीले गर्दा भएको लकडाउनका कारण अन्तराष्ट्रिय उडान स्थगन गरिएको मौका छोपेर ट्राभल एजेन्सीले चार्टर्ड फ्लाइटको नाममा चर्को शुल्क असुलेको खुलेको छ । उनिहरुले अमेरिका, जापान र हङकङको चार्टर्ड फ्लाइटमा चार गुणासम्म महंगो टिकट शुल्क असुलेको यात्रुहरुले बताएका छन् ।

दरबारमार्गमा रहेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले अमेरिकी दूतावाससँगको समन्वयमा कतार एअरवेजको जहाज चार्टर्ड गरेर नेपालमा रहेका अमेरिकी र नेपालीलाई अमेरिका पठायो । ११ जेठमा कतार एअरवेजको जहाज काठमाडौं आएर ३२० जना यात्रुलाई अमेरिका लगेको थियो । उक्त उडानका लागि प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स प्रालिले प्रतियात्रु तीन लाख ५० हजार रूपैयाँसम्म लिएको सोही विमानमा यात्रा गरेको यात्रुले बताएका छन् । सामान्य अवस्थामा नेपालबाट अमेरिका जान एकतर्फी करिव ८९ हजार रुपैयाँ पर्दछ । चार्टर्ड विमानमा केही महंगो पर्ने भएपनि चार गुणा बढि रकम असुलेको हो ।

८९ हजार भाडा लाग्ने ठाँउमा साढे तीन लाख, ४० हजार भाडा लाग्ने ठाउमा १ लाख ४४ हजार र ३५ हजार लाग्नेमा एक लाख असुल

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स प्रालिले न्यूजिल्याण्ड र क्यानडाको लागि पनि चार्टर्ड उडानको व्यवस्थापन गरेको थियो । २० जेठमा स्काई लिंक टुर्स एण्ड ट्राभलले ७ जना बालबालिका सहित २६४ जना यात्रुलाई टर्किस एअरको जहाज चार्टर्ड गरेर अमेरिका पठाएको छ । दरबारमार्गमै रहेको सेरेना टुुर्स एण्ड ट्राभल्सले २२ र २५ जेठमा नेपाल एअरलाइन्सको जहाज जापानको नारिता पठाउनेगरी प्रतियात्रु १२ सय अमेरिकी डलर लिएर टिकट बुकिङ गरिरहेको छ । त्यसमा पनि टिकट पाउन यात्रुले सोर्स लगाउनु परिरहेको दुखेसो पोखेका छन् ।

नेपाल एअरलाइन्सले चार्टर्ड उडानको लागि वाइडबडी जहाजको प्रतिघन्टा १७ हजार २८० अमेरिकी डलर मूल्य तोकेको छ । काठमाडौंबाट नेपाल एअरलाइन्सको जहाज नारिता पुगेर फर्कंदा १५ घण्टाको उडान हुन्छ । त्यसका लागि नेपाल एअरलाइन्सले ३ करोड ११ लाख रूपैयाँ भाडा लिन्छ । एअरलाइन्सले टिकट काट्न ट्राभललाई त्यसबापत टिकटको पाँच प्रतिशत कमिसन रकम समेत दिने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारी अनुसार सुमेघ ट्राभलले ९ जेठमा १९७ जना नेपाली र अरू विदेशी गरेर कूल २६८ जना यात्रु जापान पठाएको थियो । उनीहरूसँग १२ सय अमेरिकी डलरको दरमा टिकटबाट तीन करोड ८५ लाख ९२ हजार संकलन भयो ।

१९ जेठ साँझ नेपाल एअरलान्सका दुई न्यारोबडी र एक वाइडबडी चार्टर्ड विमान हङकङ गए । ती विमानमा ५८२ जना यात्रु हङकङ फर्किएका थिए । हङकङमै रहेको सनराइज ट्राभलले नेपाल एअरलाइन्सको वाइडबडी विमान चार्टर्ड गरेको थियो भने काठमाडौंको हारभेस्ट मुन ट्राभल एजेन्सीले दुईवटा न्यारोबडी विमान चार्टर्ड गरेर यात्रु हङकङ लगेको थियो ।

हङकङको लागि सनराइज ट्राभलले २७२ यात्रुसँग एक लाख रूपैयाँ भाडा लियो । हङकङमा वाइडबडी विमान पठाउँदा नेपाल एअरलाइन्सले करीब एक करोड ८६ लाख ६२ हजार लिन्छ । तर, ट्राभल एजेन्सीले प्रति यात्रु एक लाख रूपैयाँका दरले २७२ जनाबाट दुई करोड ७२ लाख रूपैयाँ उठायो । यसबाट ट्राभल एजेन्सीले करीब ८५ लाख नाफा कमायो ।

सामान्य अवस्थामा काठमाडौंबाट हङकङको औसत हवाई भाडादर ३५ हजार रूपैयाँ हो । न्यारोबडी विमान हङकङ पठाउँदा नेपाल एअरलाइन्सले प्रति उडान घन्टा ८ हजार ७४० अमेरिकी डलर भाडा लिएको छ । यस हिसाबले दुई न्यारोबडी विमानको चार्टर्ड शुल्क करीब एक करोड ८८ लाख ७८ हजार तिर्नुपर्छ । तर, हारभेस्ट मुन ट्राभल एजेन्सीले ३१० जना यात्रुबाट ८५ हजार रूपैयाँको दरले दुई करोड ६३ लाख ८५ हजार रूपैयाँ उठायो । ट्राभल एजेन्सीलाई एकै दिनको दुईवटा उडानबाट ७४ लाख ७२ हजार नाफा भएको छ ।

प्रतिक्रिया