चिकित्सकमाथि हातपात, दोषीलाई कारबाही माग

सर्लाही । अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्ने दोषिलाई सर्लाही जिल्ला अस्पतालका चिकित्सकहरुले तत्काल कारबाहीको माग गरेका छन् । कारबाहीको माग गर्दै हातहातमा कालो पट्टि र विभिन्न नारा लेखिएको प्लेकार्डसहित घटनाको विरोध गरेका छन् ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए । चिकित्सकमाथि हातपात गर्ने दोषिलाई तत्काल कारबाहीको माग गर्दै चार दिनदेखि निरन्तर भइरहेको आन्दोलनको समर्थनमा आज आफूहरु पनि आन्दोलनमा उत्रिएको मेसु डा. सन्जिव सिंहले बताए ।

नेपाल मेडिकल कलेज अस्पताल प्रशासनले सुरक्षाको प्रत्याभूति गराउनुको साटो सिसिटिभी फुटेजलगायत प्रमाण नष्ट गरेको आरोप लागेको छ । कारबाही प्रक्रियामा असहयोग गरेको भन्दै आइतबार अस्पताल प्रशासनमा तालाबन्दीसमेत गरिएको छ ।

जिल्ला अस्पतालका डा. रवि यादवले भने, ‘ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएको छ, त्यो प्रमाण अस्पतालको सिसिटिभी फुटेजमा थियो, तर अस्पतालले सिसिटिभी फुटेज डिलिट गरेर प्रमाण नष्ट गरेका छन्, हामीले दोषिलाई कारबाहीको माग मात्र गरेका छौँ, हामी सुरक्षित नभई कसरी काम गर्ने ? ।’

गत जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए । अस्पतालका चिकित्सकको आन्दोलन र मागप्रति सबैतिरबाट समर्थन आइरहेको छ ।

प्रतिक्रिया