शिक्षामन्त्रीको राजीनामा माग्दै सामाजिक सञ्जालमा आलोचना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले एक विज्ञप्ति निकाल्दै शिक्षा मन्त्रालयको सहमति बिनै अर्थमन्त्री युवराज खतिवडाले सरकारी विद्यालयलाई निजीको जिम्मा दिनेगरी बजेटमा व्यवस्था गरेको आशय व्यक्त गरे पछि उनको आलोचना भएको छ।

मन्त्रीको विज्ञप्ति पछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको विज्ञप्तिप्रति आलोचना गर्दै उनलाई पदमा बसिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिन समेत सुझाव दिएका छन् ।

गत बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भाषणको बुँदा नम्बर १६६ मा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने’ व्यवस्था गरेका थिए ।

सो बुँदाप्रति असहमति जनाउँदै मन्त्रीले नै यो विषय मन्त्रालयको प्रस्ताव नभएको उल्लेख गरेका छन् । मन्त्री पोखरेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लिखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्ताव नगरिएको भएतापनि सार्वजनिक विद्यालयको सवलीकरण र सुढृढिकरणका निम्ति गैरसरकारी क्षेत्र विकास साझेदारहरुको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचालन गरिने छ ।’

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सार्वजनिक शिक्षाको सबलीकरण हामी सबैको साझा दायित्व हो । यस क्रममा निजी शिक्षा क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेका विषयमा सहयोग गर्नेसम्मको दायित्व र भूमिका निर्वाह गर्नु उचित हुन्छ’, ‘सो प्रयोजनका लागि सरकारले एक मापदण्ड तयार गरी निजी क्षेत्रको साझेदारीमा सार्वजनिक विद्यालयको सुदृढीकरणका लागि आवश्यक कोष स्थापना गर्ने विकल्पमा जान उपयुक्त हुनेछ ।’

देश भर रहेका ३५ हजार विद्यालयमध्ये करीब साढे छ हजार निजी विद्यालय सञ्चालित छन् ।

प्रतिक्रिया