कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ संक्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

महाशाखा प्रमख डा. लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै संक्रमितलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको उनले बताए ।

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडीटी र पीसीआर परीक्षणका लागि स्वाब संकलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पीसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो । रासस

प्रतिक्रिया