ट्रम्पले सेवन गर्ने औषधिमा डब्ल्यूएचओको रोक

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगलाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ ।

संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगका बारेमा विश्लेषण गरिने उनले जानकारी दिए ।

टेड्रोसका अनुसार साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ । तर कोरोनाका बिरामी यो औषधीको सुरक्षित प्रयोगको विषयमा चिन्तित छन् ।

टेड्रोसले साइन्स जर्नल लासेन्टमा हालै प्रकाशित एक अध्ययनको कुरा गर्दै कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै भएको बताएका छन् ।

उक्त अध्ययन प्रकाशित भएपछि शनिबार विश्व स्वास्थ्य संगठनको सोलिडेरिटी ट्रायल डब्ल्यूएचओको निगरानीमा भइरहेको कोभिड–१९ क्लिनिकल ट्रायल’ को एक्सिक्युटिभ ग्रुपको एउटा बैठक बस्यो ।

१० सदस्य देशको प्रतिनिधि भएका यो समूहले बैठकपछि यस औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको छ । साथै, संसारभरी जहाँ यो औषधी प्रयोग भइरहेको छ, त्यसको नतिजाको व्यापक विश्लेषण गर्ने निर्णय पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो औषधीको प्रयोगमा लगातार प्रोत्साहन गर्दै आएका छन् । हालै उनले कोरोना भाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थिए ।

प्रतिक्रिया