एसइई स्थगित गर्न सुझाव

काठमाडौं । एसइई स्थगित गर्न सुझाव दिइएको छ । शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सूचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगित गर्न सुझाव दिएका हुन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अहिले सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द भएको छ ।

लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सूचारु गर्न विज्ञहरुले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आइतबारको बैठकमा विज्ञहरुले एसइईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएका हुन् ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थीहरुलाई पालैपालो सिफ्टवाइज विद्यालय बोलाएर पढाई सूचारु गर्नुपर्ने बताए । उनले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको र त्यसको व्यवस्थापन कठिन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताए ।

उनले विद्यालयलाई निर्मलीकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पञ्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्ने लागयतका काम गर्नपनि सुझाव दिए ।

लकडाउनमा केही विद्यालयहरुले अनलाइनबाट पढाई सुरु गरेका छन्। तर सबै विद्यार्थीहरुमा इन्टरनेटको उपलब्धता नहुने भएकाले उक्त प्रविधि सबैका लागि उपयुक्त नहुने पनि विज्ञहरुले बताएका छन्। सरकारले टेलिभिजन, रोडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्नपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताए । उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए । सांसद डा. मिनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताए । उनले सरकारले प्रविधिको विकासका लागि श्रोत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्नेगरी काम गर्नुपर्ने बताए ।

सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताइन् । उनले एसइई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताए । उनले एसइई परीक्षा सञ्चालन गर्ने विषयभित्र आर्थिक स्वार्थ समेत लुकेको हुनसक्ने भन्दै यसलाई हटाई कक्षा १२ को परीक्षा मात्रै लिनुपर्ने बताए ।

सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था कति लामो समय सम्म जान्छ र विद्यालय कहिले सम्म बन्द हुन्छ भन्ने विषयमा स्पस्ट हुनुपर्ने बताए। उनले लामो समय विद्यालय बन्द हुने, अनलाइनको पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नुपर्ने बताए ।

लकडाउन पछि पनि विद्यालय सञ्चालन गर्न न्यूनतम स्वास्थ्य सुरक्षा अपनाउनको लागि प्रत्येक विद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसको तयारी सरकारले अहिले सम्म गरेको छैन । त्यसैले लामो समयसम्म विद्यालय शिक्षा बन्द हुने भन्दै विद्यालयलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समितिले छलफल सुरु गरेको हो ।

प्रतिक्रिया