कोरोना संक्रमितको उपचार सदरमुकाम मलङ्ग्वामा गरिने

सर्लाही । सर्लाहीमा देखिएका कोरोना भारइसका संक्रमितहरुलाई सर्लाहीको सदरमुकाम मलङ्ग्वा उपचार गरिने भएको छ । संक्रमितहरुको उपचार हुने जनकपुरको प्रादेशिक अस्पताल र वीरगञ्जमा रहेको नारायणी उप क्षेत्रीय अस्पतालमा ठाउँको अभाव भएकोले जिल्लामा नै ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराए ।

मलङ्ग्वा नगरपालिकाको वडा नं, २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड निर्माण गरिएको प्रजिअ जिसीले बताए । रणशेर गणबाट आएका नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीसहितको टोलीले वार्ड निर्माण गरेका छन् ।

तत्काललाई ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिए पनि आवश्यकता अनुसार यसलाई बढाउन सकिने प्रजिअ जिसिले जनाए । उनले भने, ‘संक्रमितलाइ पौष्टिक अहार, औषधि, व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री र खानाको व्यवस्था गरिएको छ ।’

प्रजिअ जिसिका अनुसार, आइसोलेशन वार्ड निर्माण गर्नका लागि आइसियु र भेन्टिलेटरको आवश्यकता पर्दछ, तर ती उपकरणहरु उपलब्ध नभएकोले यहाँ रोगको प्राथमिक चरणको लक्षण देखिने संक्रमितहरुलाई उपचार गर्नका लागि यस नर्सिङ कलेजमा आइसोलेशन वार्ड बनाएका छौँ, गम्भीर प्रकृतिका लक्षण देखिएका संक्रमितलाई थप उपचारका लागि बाहिर नै पठाउँछौँ ।’

उनले जनकपुर र वीरगंजका अस्पतालमा रिक्त वेड नभएकोले त्यसको विकल्पको रुपमा यो आइसोलेशन वार्ड निर्माण गरिएको बताए । अहिले संक्रमितलाई आइसोलेशन वार्डमा ल्याउनका लागि एम्बुलेन्स हिँडीसकेको बताए ।

कलेजमा अध्यनरत रहेका विधार्थीहरु चैत महिनामा नै घर गइसकेकाले छात्राबास खाली रहेको कलेज प्रशासनले जनाएको छ । प्रशासनिक भवनसँगै रहेको छात्राबासमा वार्ड निर्माण गरिएको छ ।

प्रतिक्रिया